नेकपा माओवादी केन्द्रको विद्यार्थी संगठन अनेरास्ववियु (क्रान्तिकारी) को आइतबार बिहानदेखि रोकिएको मतगणना अझै अगाडि बढ्न सकेको छैन।
क्रान्तिकारीको केन्द्रीय कमिटी चयनका लागि शनिबार सात प्रदेश र गैरभौगोलिक २ प्रदेश (विश्वविद्यालय र विशेष प्रदेश) बाट मतदान गरिएको थियो।
तीमध्ये भौगोलिक सात प्रदेशको मतगणना सम्पन्न भए पनि गैरभौगोलिक २ प्रदेश (विश्वविद्यालय र विशेष प्रदेश) अन्तर्गत काठमाडौँको वाल्मीकि विद्यापीठमा भएको मतदानको गणना मसी विवादका कारण आइतबारदेखि रोकिएको हो।
मतपत्रमा रेजा लगाउँदा रातो मसी मात्र प्रयोग हुनुपर्नेमा कालो मसी पनि प्रगोग भएको पाइएपछि मतगणनामा बसेका प्रतिनिधिबीच विवाद भएको हो।
अध्यक्षका चार उम्मेदवारमध्ये विजय शर्मा सापकोटा कालो मसीले गरेको मतदान पनि सदर गर्नुपर्ने अडानमा छन् भने हेमन्त राई, उपदेश यादव र सुदिन पौडेलले भने पूर्वनिर्धारित रातो मसीवाला मतपत्र मात्र गनिनुपर्ने जिकिर गरिरहेका छन्।
सोही विषयमा सहमति हुन नसक्दा मतगणना अगाडि बढाउने आज दिनभरको प्रयास पनि सफल हुन सकेन।
यसबीच मतपेटिका माओवादी केन्द्रको केन्द्रीय कार्यालय (पेरिसडाँडा) मै लगेर मत गन्ने सहमति भएको खबर पनि सार्वजनिक भएको थियो। र, पनि यो खबर बनाउँदासम्म अर्थात् सोमबार राति करिब १० बजिसक्दा पनि मत गणना अघि बढ्न सकेको छैन।
यसैबीच अखिल क्रान्तिकारी केन्द्रीय निर्वाचन समितिका सदस्य सन्तोष राउतले आज रातभरिमा सहमतिमा पुगिने आशा व्यक्त गरेका छन्।
‘सहमतिमा ल्याउने प्रयासमा छौँ, उहाँहरू (मतगणना प्रतिनिधि) पनि जिम्मेवार हुनुहुन्छ, आज रातभरिमा सहमति निकाल्नुहुन्छ होला’, उनले भने।
मतगणना किन अगाडि बढ्न सकेन?
राउतः हाम्रो आन्तरिक चुनाव हो, त्यसैले सकेसम्म सहमति गर्नुपर्छ। साझा धारणा बनाउनुपर्छ भनेर लागिरहेका छौँ।
मसीको विवाद के हो?
राउत: मसी त लगाउनैपर्थ्यो, मार्क त गर्नैपर्छ बक्समा। बक्सभित्रको कुरा कालो छ कि के छ भनेर अहिले भन्न सकिएन। खोलेपछि मात्र थाहा हुन्छ। अहिले शंका उपशंका मात्र हो।
अनि मतपेटिका पेरिसडाँडामा लगेर मत गन्ने सहमति भएको होइन र?
राउत: पेरिसडाँडा लगिएन। त्यो पनि सहमति गरेरै लाने हो, हामीलाई गन्न कहाँ सहज हुन्छ, त्यहीँ लाने भनिएको हो। तर सहमतिमा (पेरिसडाँडा) लाने कुरामा पनि सहमति हुन सकेन र, काउन्ट गर्ने कुरामा पनि सहमति भएन। सहमतिको प्रयास भएको थियो तर परिणाम निस्कन सकेन भनौँ न।
अहिलेसम्मको मत परिणाम हेर्दा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पक्षधर सापकोटा र महासचिव जनार्दन शर्मा पक्षधर राईबीच कडा टक्कर देखिएको छ।
Shares

प्रतिक्रिया