नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले स्वदेशी तथा विदेशी लगानीको सहज वातावरण बन्न नसक्दा मुलुकको राष्ट्रिय आय अपेक्षित रुपमा वृद्धि हुन नसकेको बताएका छन्।
बुधबार पार्टी केन्द्रीय कार्यालय सानेपामा नेपाल स्टार्टअप र साना तथा मझौला व्यवसाय सम्मेलनलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। नेपालको अर्थतन्त्र उत्पादन भन्दा पनि व्यापारमुखी बन्दै गएको सभापति देउवाले बताए।
सभापति देउवाले गाउँ—गाउँमा स्थानीय उद्यमशिलताको विकास गर्दै आत्मनिर्भरता र रोजगारी सिर्जना गर्नुपर्ने अहिलेको आवश्यकता भएको बताए।
गाउँ तहदेखि उद्यमको विकास हुँदै जाँदा साना लगानीले पनि रोजगारी प्राप्त गर्ने उनको भनाई थियो। पछिल्लो समय स्टार्टअप व्यवसायतर्फ आकर्षण बढ्दो रहेको बताए। युवा पुस्ताले थोरै लगानीमा पनि सिर्जनात्मक ढंगले काम गर्ने प्रयास गरिरहेको बताए।
थोरै लगानीले स्टार्टअप व्यवसायलाई प्रभावकारी रुपमा सञ्चालन गर्दा धेरै रोजगारी सिर्जना गर्न सकिने स्पष्ट पारे। नेपालको स्थानीय उत्पादन वृद्धि गर्दै आयात प्रतिष्थापन गर्ने र वैदेशिक व्यापार घाटा न्यून गर्दै लैजाने उद्देश्यले नेपाली कांग्रेसले साना र मझौला उद्यम व्यवसाय प्रवर्द्धन गर्ने नीति लिएको बताए।
उनले भने, ‘आज हाम्रो मुलुकको राष्ट्रिय आय अपेक्षित रुपमा वृद्धि हुन नसक्नुको कारण स्वदेशी तथा विदेशी लगानीको सहज वातावरण बन्न नसक्नु र अर्कोतिर विश्वबजारसँग हाम्रो निजी क्षेत्रले प्रतिष्पर्धा गर्न असहज गरिरहेको भन्ने देखिन्छ। त्यसैले हाम्रो अर्थतन्त्र उत्पादन भन्दा पनि व्यापारमुखी बन्दै गएको छ। यही अवस्थालाई मध्यनजर गरी नेपालको स्थानीय उत्पादन वृद्धि गर्दै आयात प्रतिष्थापन गर्ने र वैदेशिक व्यापार घाटा न्यून गर्दै लैजाने उद्देश्यले हामीले साना र मझौला उद्यम व्यवसाय प्रवर्द्धन गर्ने नीति लिएका हौँ।’
सरकारले उद्यमी व्यापारी, व्यवसायीहरुले भोग्नुपरेको कानूनी तथा प्रक्रियागत समस्याहरु अन्त्य गर्दै व्यवसायमा सहजीकरण गर्न कानून ल्याएको बताए। मुलुकको समृद्धिका लागि सूचना प्रविधि प्रवद्र्धन, राजनीतिक स्थिरता र प्राकृतिक श्रोत, मानव संशाधन, पुँजीको वृद्धिको संवैधानिक समन्वयात्मक विकास जरुरी रहेको स्पष्ट पारे।
सभापति देउवाले थपे, ‘उद्यमी व्यापारी, व्यवसायीहरूले भोग्नुपरेको कानूनी तथा प्रक्रियागत समस्याहरु अन्त्य गर्दै व्यवसायमा सहजीकरण गर्न हालसालै सरकारले कानून ल्याएको छ। त्यस कानूनले यस क्षेत्रको सुधार अवश्य पनि गर्नेछ। मुलुकको समृद्धिका लागि राज्यको ध्यान पुग्नुपर्ने अर्को विषय सूचना प्रविधि पनि हो। यि सबै काम गर्न राजनीतिक स्थिरतासँगै प्राकृतिक श्रोत, मानव संशाधन, पुँजीको वृद्धिको संवैधानिक समन्वयात्मक विकास हुनुपर्छ।’
कार्यक्रममा सभापति देउवाले हमासको बन्दीमा रहेका विपिन जोशीलाई छुटाउन इजरायली राजदूतसँग आग्रह गरे।
Shares

प्रतिक्रिया