राजनीति


नेतृत्वलाई कास्की कांग्रेस सभापतिका चार सुझाव

नेतृत्वलाई कास्की कांग्रेस सभापतिका चार सुझाव

नेपालखबर
माघ २२, २०८१ मंगलबार १२:३९, काठमाडौँ

नेपाली कांग्रेस जिल्ला सभापति र प्रशिक्षण शाखा प्रमुखका लागि पोखरामा आयोजित 'संगठन र समसामयिक सन्दर्भमा अभिमुखिकरण' कार्यक्रम कास्कीको पोखरामा सुरु भएको छ।  बैठकमा कास्की जिल्ला सभापति किशोरदत्त बरालले नेतृत्वलाई चार काम तत्काल गर्न सुझाएका छन्।  उक्त कार्यक्रममा सभापति शेरबहादुर देउवा, उपसभापतिद्वय पूर्णबहादुर खड्का र धनराज गुरुङ, महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मालगायत शीर्ष नेता पोखरामा छन्। त्यस्तै कांग्रेसका अन्य पदाधिकारी पनि पोखरामै छन्। 

समृद्धिका लागि उद्यमशीलता अभियान 
उनले  नेपाली कांग्रेसले आफूलाई सबैभन्दा ठूलो, पुरानो र ऐतिहासिक पार्टीको रुपमा दाबी गर्ने हो अभियानहरु पनि अन्य पार्टीभन्दा फरक र प्रेरणादायी पनि हुनुपर्ने बताएका छन्।

उनले भने, 'वर्तमान समयले परिणाम खोज्दछ । हाम्रो गौरवपूर्ण इतिहासले भविश्यको सुनिश्चितता गर्दैन,' उनले नेताहरूलाई भने, 'हामी हिजो के थियौँ? र को थियौँ? भन्दा पनि आज हामी कहाँ छौँ? र के गरिरहेको छौँ? भन्ने कुराले महत्वपूर्ण अर्थ राख्छ । यसैले नेपाली कांग्रेसले समृद्धिका लागि विभिन्न प्रकारका उद्यमशीलताका अभियानहरु सन्चालन गर्ने आँट देखाउनु पर्छ।'

कांग्रेसको प्रजातान्त्रिक समाजवादप्रतिको प्रतिवद्धता, राजनीतिक पार्टीहरू र तिनका नेताहरूप्रति अविश्वासलाई चिरेर वातावरणीय प्रभाव, युवा बेरोजगारीलाई न्युनीकरणलाई अन्त्य गर्ने काम गर्नुपर्ने उनको सुझाव छ।  उनले राजनीतिक उद्यमशीलता, हरित उद्यमशीलता, डिजिटल उद्यमशीलता, विचार उद्यमशीलतामा ध्यान दिन सुझाए। 

बीपी शिक्षा फस्ट 
बरालले कुनै पनि राजनीति पार्टीले आफ्नो लक्ष्य प्राप्तिका लागि प्राथमकिता चयन गर्नुपर्ने र कांग्रेस त्यसमा चुकिरहेको बताए। 
यसो गर्न नसक्नु जनतालाई झुक्याउने उनको ठहर छ। 

'कुनै पनि राजनैतिक पार्टीले आफ्नो लक्ष्य प्राप्तिका निम्ति प्राथामिकता चयनका लागि आवश्यक पर्ने उच्च कोटीको राजनैतिक चेतनाको निर्माण गर्न सक्नु पर्दछ। यसो नगर्नु भनेको देश र जनतालाई झुक्याउनु र त्यसप्रति बेइमानी गर्नु हुन्छ,' उनले भने, 'नेपाली कांग्रेसको आर्थिक नीति प्रजातान्त्रिक समाजवाद हो भने त्यसको प्राप्तिको निम्ति नेपाली कांग्रेसले दिनु पर्ने प्राथामिकता के हो? नेपाली कांग्रेसले हिड्नु पर्ने बाटो के हो ? हिडाउनु पर्ने बाटो कुन हो? ? यसका लागि नेपाली कांग्रेस जस्तो पार्टी स्पष्ट हुन आवश्यक छ ।'

उनले लक्ष प्राप्तिका निम्ति नेपाली कांग्रेसले हिँड्नुपर्ने बाटो बीपी शिक्षाभित्रको मर्मलाई आत्मसाथ गर्ने राजनीतिक संस्कार र प्रतिवद्धता भएको बताए।  

'बीपी शिक्षा शिक्षा भनेको उत्पादन, उद्यमशीलता र विवेकको सुन्दर संयोजन हो' उनले भने।  

डिजिटल डेमोक्रेसीको प्रयोग 
२१औं शताब्दीको डिजिटल युगमा चलिरहँदा संगठन गर्ने, राजनीतिक गर्ने परिपाटीलाई पनि परिवर्तन गर्नुपर्ने उनको सुझाव छ। 

'हामी यतिवेला २१ औ शताब्दीको डिजिटल युगमा प्रवेश गरेका छौँ। हामीले हिजो जसरी संगठन गर्‍यौँ। जसरी राजनीति गर्‍यौँ र जेलाई राजनीति भन्यौ अब त्यसलाई मानेर हामी अगाडि बढ्न सक्ने अवस्थामा नै छैनौँ,' उनले थपे, 'हामीले खानेकुरा, बोल्ने कुरा, लगाउने कुरा र व्यवहार गर्ने कुरामा पनि भूमण्डलीकरणको प्रभाव परेको छ। समाज भौतिक सम्पर्कबाट भर्चुअल सम्पर्कमा स्थानान्तरण भएको छ । जसले समाजमा भर्चुअल सम्पर्कको जबरजस्त प्रभाव पारेको छ। अब हामीले हाम्रा कुराहरु, एजेण्डाहरु र उपलब्धीलाई सुनाउन जनता तथा पार्टीका सदस्यहरुलाई कुनै चउर , सडकका चोक र यस्ता पार्टी प्यालेसमा जम्मा गरेर प्रभावकारी परिणाम दिनै सक्दैनौँ।'

नेताले भाषण र क्रियाकलापहरुको प्रभाव भौतिक सभा समारोहमा दुई चार हजार मानिसहरुको टाउको गनेर खोज्न नहुने पनि उनको भनाइ छ। उनले सामाजिक सञ्जालहरू फेसबुक, ट्वीटर (एक्स), युट्युब, टिकटक, इन्स्टाग्रामलगायतमा खोज्नुपर्ने पनि बताए। 
 
अनुशासन लक्ष्य र उपलब्धिक पुल 
कांग्रेसको संगठन अनुशासनमा छ या छैन भन्ने कुराले प्रजातान्त्रिक समाजवादको लक्ष्य प्राप्तिमा अर्थ राख्ने बरालको भनाइ छ। कांग्रेसका नेताहरू अनुशासन र संवेदनशील हुने नसकेको पनि उनले बताए। 

'अनुशासनका विषयमा कांग्रेसका नेताहरू गम्भीर र संवेदनशील हुन नसकेको आभास हुन थालेको छ,'उनले भने, 'पार्टीलाई राम्रो र बलियो बनाउने नाममा हामीले पार्टी हित विपरीत काम गर्नेहरुलाई दण्डको व्यवस्था नगरी माफी दिने गलत
अभ्यास गरिरहेका छौँ।' 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad