नेताहरूको कार्यविभाजनमा काखा र पाखा गरेको भन्दै नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्मा असन्तुष्ट छन्।
यसले शर्मा अध्यक्ष प्रचण्डप्रति रुष्ट भएको उनीनिकट नेताहरू बताउँछन्।
अध्यक्ष प्रचण्डले आफ्नो गुट बलियो बनाउनेगरी निकटस्थहरूलाई जिम्मेवारी दिएको आरोप शर्माले लगाएका छन्। आफ्ना पक्षमा लागेकालाई छानीछानी दोहोरो, तेहेरो जिम्मेवारी दिएको भन्दै उनी विरोधमा उत्रनुपर्ने अवस्था आएको शर्मा पक्षको भनाइ छ।
माओवादीले आइतबार (माघ २७) २२ पदाधिकारीसहित केन्द्रीय सदस्यसम्मका नेताहरूको कार्यविभाजन गरेको परिपत्र तल्लो तहमा पठाएको थियो। जसअनुसार शर्माले संगठन विभाग प्रमुखको जिम्मेवारी पाएका छन्। उनलाई वैचारिक संगठन समन्वय प्रमुख पनि बनाइएको छ।
यसअघि पनि उनी सोही विभागको प्रमुख थिए। तर, यसपटक भूमिका खुम्च्याइएको शर्माले आफू निकटस्थसँग बताएका छन्।
पुस २१-२३ सम्म काठमाडौँमा बसेको केन्द्रीय समितिको बैठकको निर्णयअनुसार कार्यविभाजन नभएको राष्ट्रिय सभा सदस्यसमेत रहेका जगप्रसाद शर्मा बताउँछन्।
‘केन्द्रीय समिति बैठकमा भएको निर्णयअनुसार कार्यविभाजन भएन,’ शर्माले नेपालखबरसँग भने, ‘नयाँ ढंगले जाने, पार्टीलाई विधि प्रक्रियामा लैजाने, पार्टीमा जे सम्भावना देखापरेको छ, त्यसलाई वास्तविकतामा बदल्नको लागि वैचारिक राजनीतिक हिसाबले जे बहस र छलफल चलेको थियो, त्यसलाई कार्यान्वयन गर्ने प्रकारको संगठन, त्यो खालको संरचना र कार्यविभाजन भएन। सही मान्छे सही ठाउँमा हुन सकेन।’
उनका अनुसार केन्द्रीय विभागदेखि प्रदेश र जिल्लासम्म एकलौटी विभाजन भएको देखिन्छ। शर्मापक्षीय अर्का एक नेताले त कार्यविभाजन हेर्दा पार्टी निर्माण गर्ने होइन कि आफ्नो गुटलाई च्याप्ने काम भएको बताए।
‘गडबड गरे, पूरै एकलौटी गरे,’ उनले भने, ‘अध्यक्ष प्रचण्ड, मोहन वैद्यबाट आएको टोली (पम्फा भुसाल, देव गुरुङ, हितमान शाक्य) लगायत चाकरहरू मिलेर मनलाग्दी कार्यविभाजन गरे।’
पार्टीभित्र बहस गर्नेलाई जिम्मेवारी मुक्त गरिएको ती नेता दाबी गर्छन्।
‘पार्टीलाई राम्रो, सुदृढ गर्ने प्रक्रियाबाट भन्दा पनि आफ्नो गुटमा लागेका, पक्षमा खुलेका नेतालाई बक्सिस दिने काम भयो,’ उनले थपे, ‘पार्टीभित्र विधिको बहस गर्ने, जनताप्रति फर्किन प्रेरित गर्ने, रूपान्तरणको कुरा उठाउने जो जति छन्, उहाँहरूलाई भूमिका नदिने काम भयो।’
यी हुन् दोहोरो भूमिका पाउने नेता
एउटै नेतालाई दुईतीनवटा जिम्मेवारी दिइएको शर्मालाई चित्त बुझेको छैन। वैचारिक राजनीतिक क्षेत्र संयोजकको जिम्मेवारी लिएका अध्यक्ष प्रचण्ड सोही मातहतको पार्टी स्कुल विभागको प्रमुख पनि छन्।
प्रभावशाली विभागमा अन्तर्गत अन्तर्राष्ट्रिय विभागको नेतृत्व वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले पाएका छन्। उपप्रमुखमा उपाध्यक्ष पम्फा भुसाल तथा सचिव राम कार्कीलाई राखिएको छ।
उपाध्यक्ष अग्नि सापकोटा प्रचार विभाग प्रमुख, पुस्तकालय तथा अभिलेख विभागमा गणेशमान पुन, साहित्य कला तथा संस्कृति विभागमा महेश्वर दाहाल र नीति अनुसन्धान विभाग प्रमुख उपमहासचिव शक्तिबहादुर बस्नेतलाई बनाइएको छ।
प्राकृतिक स्रोत व्यवस्थापन क्षेत्रको संयोजक पनि उनै छन्। यस्तै, युवा विद्यार्थी समन्वय प्रमुख पनि उनैलाई बनाइएको छ।
यसैगरी, पार्टी उपाध्यक्ष कृष्णबहादुर महरालाई जबस-मोर्चा तथा प्रतिष्ठान समूहतर्फ प्रतिष्ठान समन्वय संयोजक बनाइएको छ। उनी राज्य व्यवस्था मामिला संयोजक पनि छन्।
सो मातहतको राजकीय मामला तथा सुशासन विभागमा रेखा शर्मा, सामान्य प्रशासन विभागमा अमनलाल मोदी, राष्ट्रिय सुरक्षा विभागमा महेन्द्रबहादुर शाही, निर्वाचन विभाग प्रमुखमा खिमलाल देवकोटा, विपद् व्यवस्थापन विभागमा सूर्य सुवेदी, कानुन तथा मानवअधिकार विभाग प्रमुख मुक्ति प्रधानलाई बनाइएको छ।
प्रचार विभाग प्रमुख रहेका अग्नि सापकोटालाई मानव संसाधन तथा सामाजिक क्षेत्र संयोजक पनि बनाइएको छ। यस्तै, वर्गीय संगठन समन्वय संयोजक पनि उनै छन्।
समावेशी तथा सामाजिक न्याय क्षेत्र संयोजकमा पम्फा भुसालले नेतृत्व पाएकी छन्। उनलाई विशेषाधिकार र पेसागत संगठन समन्वय प्रमुखको जिम्मेवारी पनि दिइएको छ।
सो मातहतको विभागहरू महिलामा शशी श्रेष्ठ, समाज कल्याणमा सत्या पहाडी, दलित तथा अल्पसङ्ख्यकमा महेश्वर गहतराज, उपभोक्ता हित तथा आपूर्ति प्रमुखमा रामजी बराल छन्।
महासचिव देव गुरुङ संघीय मामिला संयोजक बनाइएका छन्। उनैले पहिचान सम्बन्धित संगठन समन्वयको पनि जिम्मेवारी पाएका छन्।
परिपत्रअनुसार संघीय संसदीय विभाग प्रमुख रहेका हितराज पाण्डेले सहिद बेपत्ता परिवार समन्वय प्रमुखको पनि जिम्मेवारी पाएका छन्।
प्रादेशिक मामिला विभाग प्रमुख परशुराम तामाङ, स्थानीय तह विभाग प्रमुख उर्मिला अर्याललाई बनाइएको छ।
उपमहासचिव वर्षमान पुनले आर्थिक क्षेत्र संयोजकको जिम्मेवारी पाएका छन्।
सो मातहतको अर्थ तथा योजना विभाग प्रमुख पनि पुन नै छन्। उद्योग व्यवसायसँग सम्बन्धित संगठन समन्वय संयोजक पनि उनैले पाएका छन्।
सहकारी तथा गरिबी निवारण विभागमा लीलामणि पोख्रेल, पर्यटन तथा नागरिक उड्डयन विभागमा झक्कुप्रसाद सुवेदी, श्रम रोजगार विभागमा रामेश्वर राय यादव, उद्योग तथा वाणिज्य विभागमा वामदेव क्षेत्री र कोष तथा लेखा विभाग प्रमुखमा डोरप्रसाद उपाध्याय छन्।
सामाजिक तथा सामुदायिक संगठन समन्वय प्रमुख बनाइएका पार्टी सचिव देवेन्द्र पौडेललाई नै भौतिक पूर्वाधार क्षेत्रको संयोजकको पनि जिम्मेवारी दिइएको छ।
सो मातहतको भौतिक पूर्वाधार तथा यातायात विभागको प्रमुखमा पूर्ण घर्ती तथा सहरी विकास विभागको प्रमुखमा जगप्रसाद शर्मा प्रमुख छन्।
प्राकृतिक स्रोत व्यवस्थापन क्षेत्र मातहतको ऊर्जा जलस्रोत विभागमा लीलामणि पोख्रेल र कृषि तथा भूमि सुधार विभागमा हितबहादुर तामाङ प्रमुख चयन भएका छन्।
पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनलाई विशेष जिम्मेवारी भन्दै आर्थिक उत्पादन संयन्त्र इन्चार्ज बनाइएको छ।
अनेरास्ववियु क्रान्तिकारीमा हालै भएको चुनावपछि अध्यक्ष प्रचण्डले आफ्नै गुट बलियो बनाउने उद्देश्यसहित कार्यविभाजन गरेको शर्माको बुझाइ छ। ३२ वर्षे उमेर हद लगाउने पक्षमा रहेका शर्माले अध्यक्ष बाहेक आफ्ना पक्षका २२ पदाधिकारी जिताएका थिए।
तर, अहिले छानी छानी जिम्मेवारी दिइएको शर्मा पक्षीय नेता अनिल शर्मा बताउँछन्।
‘आफ्ना वरिपरि बस्ने, जयजयकार गर्ने नेतालाई जिम्मा दिने, प्रोत्साहन गर्ने, फुली लाइदिने काम भयो,’ उनले भने, ‘मनपरेको नेता अब्बल नभए पनि दुईचारवटा विभागकै जिम्मा दिइएको छ।’
पञ्चा सिंहले छोडिन् जनार्दन समूह
क्रान्तिकारीकी निवर्तमान अध्यक्ष रहेकी पञ्चा सिंहले जनार्दन समूह छाडेकी छन्। प्रचण्ड पक्षमा उनी खुलेर लागिसकेकी छन्।
माओवादीले माघ २७ गते गरेको कार्यविभाजनमा उनी क्रान्तिकारीको सहइन्चार्ज बनाइएकी छन्। शर्मा समूह छोडेकैले उनले जिम्मेवारी पाएका शर्मापक्षीय नेताको बताइ छ।
‘स्वार्थकै कारण उहाँले जनार्दन सरलाई छोड्नुभयो, त्यहाँ पुगेपछि केही अवसर पाउने कुरा भएको थियो होला, शर्मा दाइको पछि लागेर त केही पाइँदैन,’ अनिल शर्माले भने, क्रान्तिकारीको चुनाव अगाडिदेखि उहाँ उतै खुल्नुभएको हो।’
केन्द्रीय समिति बैठकमा आफ्ना कुरा समेटिएको र केही पछि समेट्ने भनेपछि शर्माले अध्यक्ष प्रचण्डको प्रतिवेदनलाई समर्थन गरेका थिए। सोही कारण बैठकमा सानदार सफल भएको प्रचण्डको भनाइ थियो।
‘अहिले आउँदा कार्यविभाजनमा केन्द्रीय समितिको मर्मभन्दा विपरीत ढंगले आयो,’ केन्द्रीय सदस्य शर्माले भने।
शर्मा पक्षका थोरै नेताले मात्र पाए जिम्मेवारी
नेताहरूका अनुसार क्रान्तिकारीको चुनावदेखि उपमहासचिव जनार्दन शर्मा हाबी हुनसक्ने आकलन गरिरहेका प्रचण्डले कार्यविभाजनमा त्यसलाई कसेका छन्।
त्यही भएर जिम्मेवारी दिँदा आफू पक्षकालाई प्राथमिकता दिएका छन्।
‘जनार्दन सरको मान्छे प्रदेशमा एउटा पनि परेन, जिल्लामा पनि निकै कम नेतालाई जिम्मेवारी दिइएको छ,’ एक नेताले भने, ‘कार्यविभाजन गर्नेबारे कुनै सल्लाह नै नगरी एकलौटी पेलेछन्।’
हेमन्त राईलाई हराउन लाग्ने सिंगो टिमलाई जिम्मेवारी दिइएको शर्मा दाबी गर्छन्।
‘प्रदेशका थपिएका इन्चार्ज र सहइन्चार्जहरूदेखि लिएर जिल्लासम्म आइपुग्दा गुनगान गाउने र कट्टर भक्तले पाएका छन्,’ उनले भने।
Shares

प्रतिक्रिया