राजनीति


मानव अधिकार तथा संक्रमणकालीन न्याय सल्लाहकारमा खरेल, यस्ता छन् मन्त्रिपरिषद्का १९ निर्णय

मानव अधिकार तथा संक्रमणकालीन न्याय सल्लाहकारमा खरेल, यस्ता छन् मन्त्रिपरिषद्का १९ निर्णय

नेपालखबर
फागुन २३, २०८१ शुक्रबार १४:४, काठमाडौँ

बुधबार बसेको मन्त्रिपरिषद् बैठकका १९ निर्णय सार्वजनिक गरेको छ।

शुक्रबार सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले पत्रकार सम्मेलन गर्दै फागुन २१ गते बसेको मन्त्रिपरिषद् बैठकका १९ निर्णय सार्वजनिक गरेका हुन्।

निर्णयहरू यसप्रकार छन्-
२०८१ चैत २६ देखि २७ (तदनुसार ८ देखि ९ अप्रिल, २०२५) गतेसम्म अमेरिकाको वासिङ्टन डीसीमा आयोजना हुने एन्टिकरप्सन ग्लोबल फोरममा सहभागी हुन अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त जयबहादुर चन्दलाई स्वीकृति प्रदान गर्ने।

थाइल्यान्डको बैंककमा २०८१ फागुन १९ देखि २१ (तदनुसार ३ देखि ५ मार्च, २०२५ ) सम्म आयोजना हुने एसिया प्यासिफिक रिजनल प्रिपेरेटोरी मिटिङ फर द सेकेन्ड युनाइटेड नेसन्स फुड सिस्टम समिट स्टकटेकिङ मुमेन्ट कार्यक्रममा राष्ट्रिय योजना आयोगका सदस्य प्राडा आरपी बिच्छालाई सहभागी हुन स्वीकृति प्रदान गर्ने।

प्रधानमन्त्रीको मानव अधिकार तथा संक्रमणकालीन न्याय सम्बन्धी सल्लाहकारमा अग्निप्रसाद खरेल (झापा) लाई नियुक्त गर्ने। 

सुशासन प्रवर्धन तथा सार्वजनिक सेवा प्रवाह सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न वनेको अध्यादेश, २०८१ को प्रतिस्थापन विधेयक संघीय संसदबाट अध्यादेश स्वीकृत भएपश्चात पेश गर्न स्वीकृति प्रदान गर्ने।

आर्थिक तथा व्यावसायिक वातावरण सुधार र लगानी अभिवृद्धि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१ को प्रतिस्थापन विधेयक संघीय संसदबाट अध्यादेश स्वीकृत भएपश्चात पेश गर्न स्वीकृति प्रदान गर्ने।

आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) अध्यादेश, २०८१ लाई प्रतिस्थापन गर्ने विधेयक संघीय संसदबाट अध्यादेश स्वीकृत भएपश्चात पेश गर्न स्वीकृति प्रदान गर्ने।

निजीकरण (पहिलो संशोधन) अध्यादेश, २०८१ लाई प्रतिस्थापन गर्न बनेको विधेयक संघीय संसदबाट अध्यादेश स्वीकृत भएपश्चात पेश गर्न स्वीकृति प्रदान गर्ने। 

चालु आर्थिक वर्ष २०८१/८२ को लागि १८ प्रतिशतसम्म चिस्यान भएको चैते धानको प्रति क्विन्टल रु. २,८००।६९ न्यूनतम समर्थन मूल्य तोक्ने। 

१८ प्रतिशतभन्दा बढी चिस्यान भएको चैते धानको हकमा एक प्रतिशत चिस्यानका लागि प्रति क्विन्टल १,२०० ग्रामका दरले हुन आउने तौल घटाई कायम हुन आउने तौलका आधारमा न्यूनतम समर्थन मूल्य कायम गर्ने।

यही चैत ५ देखि ६, २०८१ (तदनुसार १८-१९ मार्च, २०२५) सम्म जर्मनीको बर्लिनमा आयोजना हुने ११ औं एडिसन अफ द बर्लिन इनरूजी ट्रान्जिसन डायलगमा ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री दीपक खड्कालाई सहभागी हुन स्वीकृति दिने।

नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक श्री कुलमान घिसिडलाई नेपाल विद्युत प्राधिकरण, कार्यकारी निर्देशक वा महाप्रबन्धकको सेवाको शर्त तथा सुविधा सम्बन्धी विनियमावली, २०६१ (संशोधनसहित) को विनियम २२ को खण्ड (क) बमोजिम नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक पदबाट किन नहटाउने? भनी सोही विनियमावलीको विनियम २३ बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्समक्ष तीन दिन भित्र सफाई पेश गर्न मौका दिने। सो प्रयोजनका लागि ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयले पत्राचार गर्ने।

नेपाल प्रहरीमा जनपद समूहतर्फ रिक्त रहेको प्रहरी अतिरिक्त महानिरीक्षक पदमा प्रहरी नायब महानिरीक्षक जनक भट्टराईलाई २०८१/११/१८ देखि लागू हुने गरी बढुवा नियुक्त गरी नेपाल प्रहरी प्रधान कार्यालय, प्रदेश समन्वय विभागमा पदस्थापन गर्ने।

सहकारी सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१ को प्रतिस्थापन विधेयक संघीय संसदवाट अध्यादेश स्वीकृत भएपश्चात पेश गर्न स्वीकृति प्रदान गर्ने। 

२०८१ फागुन २६ गतेदेखि चैत्र ८ गतेसम्म न्यूयोर्कमा आयोजना हुने संयुक्त राष्ट्रसंघीय महिलाको स्थितिसम्बन्धी आयोग (सीएसडब्ल्यू) को ६९ औँ सम्मेलनमा सहभागी हुन महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री माननीय नवल किशोर साह सुडीको नेतृत्वको प्रतिनिधिमण्डलको भ्रमण स्वीकृत गर्ने।

२०८१ फागुन २९ (तदनुसार १३ मार्च, २०२५) मा बेलायतको लन्डनमा आयोजना हुने मन्त्रीस्तरीय गोलमेच कार्यक्रममा सहभागी हुन वन तथा वातावरण मन्त्री ऐन बहादुर शाही ठकुरीलाई स्वीकृति प्रदान गर्ने।

सहसचिव वीरेन्द्रकुमार यादवलाई मुख्यमन्त्री तथा मन्त्रिपरिपद्को कार्यालय, कर्णाली प्रदेशको प्रमुख सचिव पदमा कायममुकायम मुकरर गर्ने।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय (शासकीय मामिला); उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय (वाणिज्य तथा आपूर्ति); महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय; संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिवको विभिन्न देशमा हुने वैदेशिक भ्रमण स्वीकृत गर्ने।

नेपाल प्रशासन सेवा समूहीकरणतर्फको राजपत्रांकित विशिष्ट श्रेणीको रिक्त पदमा मधेश प्रदेशका कायममुकायम प्रमुख सचिव मदन भुजेललाई बढुवा गरी मधेश प्रदेशमा पदस्थापन गर्ने।

नेपाल स्वास्थ्य सेवाको राजपत्राद्वित विशिष्ट श्रेणीको रिक्त सचिव पदमा अधिकृत १२औँ तहका डा विकास देवकोटालाई बढुवा गर्ने।

राजपत्राद्वित विशिष्ट श्रेणीका अधिकृत (सचिव) सुमनराज अर्याल र लोकनाथ पौड्यालको सरुवा भएको छ।

अतिरिक्त समूहमा रहेका अर्याल राष्ट्रिय योजना आयोगमा र  कर्णाली प्रदेशका प्रमुख सचिव पौड्याल उपराष्ट्रपतिको कार्यालयको सचिवमा सरुवा भएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad