प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वराजा ज्ञानेन्द्र शाहको गैरसंवैधानिक क्रियाकलापले देश अफ्ट्यारोमा परिरहेको बताएका छन्। देशमा संविधान कानून नमान्ने प्रवृत्ति देखा परिरहेको बताउँदै उनले त्यसका विरुद्ध राजनीतिक दल एक हुन आग्रह गरे।
‘अहिले संविधान नमान्ने, लोकतन्त्र, कानून र प्रणाली नमान्ने अनौठो प्रवृत्ति देखा पर्न थालेको छ। फागुन ७ मा पूर्वराजा ज्ञानेन्द्रको सम्बोधन सुनेर छक्क लाग्यो, संविधानको पनि कुरा गर्नुहुन्न, लोकतन्त्रको कुरा गर्नुहुन्न, मलाई साथ दिनुस, म आउँछु देश बचाउँछु, देश के भएको छ?,’ सुदूरपश्चिम प्रदेश सभाको विशेष बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भने, ‘उहाँहरु र उहाँहरूद्वारा प्रेरित यस्ता अस्थिरता र अराजकता क्रियाकलापहरुले देश अफ्ठ्यारोमा पर्दैछ।’
पुस्तैनी सत्ता चलाएको पूर्वराजाको हैसियतले देशलाई सभ्य र संविधान र कानूनअनुसार देश चलाउनुपर्छ भनेर सिकाउनुपर्ने ओलीले सुझाव दिए। प्रधानमन्त्री ओलीले पूर्वराजा ज्ञानेन्द्रलाई राजनीतिमा आउन चुनौती पनि दिए।
‘मलाई साथ देउ, म आउँछु, कहाँ आउने उहाँ? पोलिटिक्समा आउनुस् न हामी त स्वागत गर्छौं त, राजनीतिमा आउने हो भने यू आर वेलकम, आउनुस्’ उनले भने, ‘तर के साथ माग्नु भएको? बुझिएन, अब यस्ता कुराहरुलाई साथ दिएर देशलाई फेरि पछाडि फर्काउने प्रयासहरु देखिएका छन्।’
राष्ट्रिय एकतालाई बलियो बनाउनु पर्नेमा देशलाई भूगोल, जात, धर्मका नाममा विभाजन गर्ने कोसिस भइरहेका प्रधानमन्त्री ओलीको टिप्पणी थियो। राजनीतिक स्थिरताका लागि नेपाली कांग्रेस र नेकपा एमाले मिलेकोले सरकार चुनावसम्म सहमतिअनुसार अघि बढ्ने उनले बताए।
देशको अर्थतन्त्र बिग्रिएकोले सरकारले त्यसलाई सुधार गर्दै लगिरहेको समेत ओलीले दाबी गरे। प्रधानमन्त्री ओलीले अघिल्लो सरकारले अर्थतन्त्र डामाडोलको स्थितमा पुर्याएकोले देशको आर्थिक अवस्था निकै बिग्रिएको जिकीर गरे।
‘देशको अर्थतन्त्र, आर्थिक अवस्था निकै बिग्रिएको अवस्था छ। अघिल्लो सरकारले एकढंगले डामाडोल बनाएको स्थितिबाट अहिले हामीले सम्हाल्नु पर्ने स्थितिमा जाँदैछौँ,’ ओलीले भने, ‘तिर्ने पैसा तिरिएको छैन। आम्दानी हुने ठाउँ सिद्धिएका छन्। आम्दानी छैन। कर उठाउने प्रवृत्ति कमजोर भएको छ। त्यस्तो स्थितिबाट फेरि बढाउने काम गरेका छौँ।’
गतवर्ष अनुमानभन्दा २४ प्रतिशत राजश्व कम उठेको उनले बताए।
‘यसवर्ष ३० प्रतिशत बढी उठाउँछौँ भन्ने आधारहीन आकलन प्रस्तुत गरिएको थियो। त्यो साचो होइन, केही बढ्छ,’ उनले भने, ‘२४ प्रतिशत माइनस जान ट्रेन्डलाई रोेकिन्छ। अर्थतन्त्रलाई विभिन्न ढंगले ट्रयाकमा ल्याइन्छ।’
चुनौतीबीच योजना बनाएर तीनै तहका सरकारले मिलेर काम गर्नु पर्ने उनले बताए।
‘हामी चुनौतीका बीचमा छौँ। योजना बनाएर चल्न खोजेकाले यी चुनौती चिर्न सक्छौँ,’ उनले भने, ‘यसमा संघ सरकारले मात्रै गरेर हुँदैन, तीनै तहका सरकारलाई साथमा लिएर काम गर्नुपर्छ।’
सुदूरपश्चिम विकासको सम्भावना बोकेको प्रदेश भएको बताउँदै प्रधानमन्त्री ओलीले प्रदेशकको भविष्य सुन्दर रहेको बताए।
दार्चुलाको खलंगाबाट छाङरुसम्म जोड्ने बाटो खोल्न बजेट विनियोजन गरिएको उनले बताए। छाङरुसम्म नेपालतर्फ बाटो सुचारु गरेर ताक्लाकोटसँग जोडेर नाकाको रुपमा विकास गरिने उनले बताए।
‘पारीको बाटो प्रयोग गरिन्छ। त्यसलाई हटाउन नेपालतर्फबाटै जाने बाटो घोरेटो बनाउन ५ करोड विनियोजन गरेका छौँ। घोरेटो बाटो खोलिने छ,’ उनले भने, ‘त्यसपछि पहरो छिचोलेर पक्की बाटो पुर्याउनेछौँ। र ताक्लाकोटसँग जोडेर नाकाको रुपमा विकास गर्नेछौँ।’
यसै वर्षदेखि गेटा मेडिकल विश्वविद्यालय सञ्चालनमा ल्याइने उनको भनाइ थियो।
Shares

प्रतिक्रिया