ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्काले तीन महिनामा दोस्रोपटक जलस्रोत तथा सिँचाइ विभागमा महानिर्देशक फेरेका छन्।
फेरेर उनले नयाँलाई पठाएका भने होइनन्। तीन महिनाअघि हटाएका सञ्जीव बराललाई नै उनले फेरि महानिर्देशक बनाएर पठाएका छन्।
सोमबार उनले मन्त्रीस्तरीय निर्णय गरी जलस्रोत तथा सिँचाइ विभागको महानिर्देश पदको जिम्मेवारीमा खटाएका छन्।
तीन महिनाअघि महानिर्देशक बनाएर पठाइएका देवराज निरौलालाई उनले मन्त्रालयमा तानेका छन्।
खड्काले गत मंसिर १८ गते मात्र बराललाई हटाएर निरौलालाई विभाग सम्हाल्न पठाएका थिए। त्यतिखेर बरालले ६ महिना पनि काम गर्न पाएका थिएनन्।

बराल विभिन्न शक्तिकेन्द्रसँग राम्रो सम्बन्ध बनाउन सक्ने कर्मचारीमा पर्छन्। गोकर्ण विष्ट ऊर्जामन्त्री छँदा उनी निजी सचिव थिए। शक्ति बस्नेत ऊर्जामन्त्री भएपछि उनी महानिर्देशकको जिम्मेवारी पाएर सिँचाइ विभाग गएका थिए।
‘मन्त्री खड्का आउनेबित्तिकै ठेकापट्टामा विशेष रुचि देखाएपछि उनीहरूबीच कुरा मिलेको थिएन,’ विभाग स्रोतको भनाइ छ, ‘अहिले बरालसँग के कुरा मिल्यो र निरौलासँग के मिलेन? तीन महिनाअघि हटाइएका व्यक्तिलाई अहिले किन ल्याउनुपरेको हो? यो त मनोमानीको पराकाष्ठा भयो।’
Shares

प्रतिक्रिया