राजावादीको शक्ति प्रदर्शनमा भारत उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथको तस्बिर प्रयोग गरिएको विषयमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रवक्ता ज्ञानेन्द्र शाही र प्रधानमन्त्री केपी शर्मा ओलीका प्रमुख सल्लाहकार विष्णु रिमालबीच सामाजिक सञ्जालमा भनाभन जारी छ।
यस क्रममा मंगलबार बिहान शाहीले रिमाललाई वडाध्यक्षमा उठ्ने तयारी गर्न भन्दै कटाक्ष गरेपछि एमाले उपमहासचिव रिमालले पनि जवाफ फर्काएका छन्।
शाही कसरी सांसद हुन सफल भए भन्ने विषयमा व्यंग्य गर्दै रिमालले ‘न्युटनका बिरालाको कथा’ सुनाएका छन्।
कथा सुनाइसकेपछि रिमालले लेखेका छन्, ‘लोकतन्त्रमा चुनाव, एक हिसाबले ‘न्युटनको बिरालोको दुलो’जस्तै हो। त्यस दुलोबाट सानो वा ठूलो, लुते वा बलियो, फोहरी वा सुग्घरी...जस्ता बिराला पनि छिर्न सक्छन्। राम्राभन्दा राम्रा प्रणालीमा पनि केही न केही छिद्र हुन सक्छन्, यत्ति त बुझ्नपर्छ। भन्न खोजेको यत्ति मात्र हो।’
यस्तो छ रिमालले सुनाएको कथा-
लोकतन्त्र र न्युटनका बिरालाको कथा!
सर आइज्याक न्युटन र उनका बिरालासम्बन्धी एउटा रोचक कथा छ।
न्युटनको अध्ययन कक्षमा दुई बिराला थिए- एउटा ठूलो र अर्को सानो। आफ्नो काममा बाधा नपरोस् भनेर बिरालाहरूलाई ढोका खोल्न नपर्ने गरी घरभित्र र बाहिर आउजाउ गर्न दिन, न्युटनले ढोकामा दुईवटा प्वाल पार्न लगाए- ठूलो बिरालोको लागि ठूलो प्वाल र सानो बिरालोको लागि सानो प्वाल। सानो बिरालो ठूलो बिरालोलाई बनाइएकै प्वालबाट आउजाउ गरिहाल्थ्यो, छुट्टै दुलो किन बनाइराख्न पर्थ्यो?!
यस घटनाले स्पष्ट पार्छ, जटिल सिद्धान्तहरू बुझ्ने न्युटनजस्ता असाधारण प्रतिभाहरूसमेत कहिलेकाहीँ यति साधारण व्यावहारिक उपायमा अलमलिँदा रहेछन्! न्युटनले वास्तवमै बिराला पालेका थिए, थिएनन् वा त्यस्तो प्वाल बनाएका थिए, थिएनन्, बहसको विषय बनाउन खोजेको होइन। यो कथा यहाँ चर्चा गर्नुको कारण छ:
हिजो मैले एउटा मिथ्या सूचनाको खण्डन गर्ने क्रममा मर्यादित स्थानमा ‘भवितव्य’ले पुगेका, डिस्इन्फरमेसन फैलाउने एकजना ‘अयोग्य, अराजक, अशिष्ट, अराष्ट्रिय तत्त्व’को आलोचना गरेको थिएँ। हामीमध्ये धेरैलाई लाग्न सक्छ- ती व्यक्ति हामीले नै बसालेको लोकतान्त्रिक प्रणालीबाट जनताले छानेका मानिस हैनन् र? जनप्रतिनिधिमाथि यस्तो टिप्पणी सुहाउँछ?
लोकतन्त्र हुकमी शासन हैन। न त यो 'जन्म र वंश'को आधारमा बनेका अयोग्य शासकले टीका लगाएर प्रतिनिधि तोकिने प्रणाली हो। लोकतन्त्रमा ‘खेलको नियम’ हुन्छ, आफूलाई मन परोस् वा मन नपरोस्, जसले बढी भोट पाउँछ, उसैलाई जनताले आफ्नो ‘प्रतिनिधि’ मान्नैपर्छ। हाम्रो लोकतान्त्रिक प्रणालीले ‘जनमतको सम्मानका खातिर’ जस्तोसुकै भए पनि उसैलाई ‘माननीय’ सम्बोधन गर्ने सदाचार सिकाउँछ।
लोकतन्त्रमा चुनाव, एक हिसाबले 'न्युटनको बिरालोको दुलो’जस्तै हो। त्यस दुलोबाट 'सानो वा ठूलो, लुते वा बलियो, फोहरी वा सुग्घरी' .... जस्ता 'बिराला' पनि छिर्न सक्छन्।
राम्रा भन्दा राम्रा प्रणालीमा पनि केही न केही छिद्र हुन सक्छन्, यत्ति त बुझ्नपर्छ। भन्न खोजेको यत्ति मात्र हो।

Shares

प्रतिक्रिया