राजनीति


तीन जिल्ला समेटेर बुद्ध सर्किट बनाउन लुम्बिनीका मुख्यमन्त्रीलाई विनोद चौधरीको सुझाव

तीन जिल्ला समेटेर बुद्ध सर्किट बनाउन लुम्बिनीका मुख्यमन्त्रीलाई विनोद चौधरीको सुझाव

नेपालखबर
चैत ११, २०८१ सोमबार १७:३९, काठमाडौँ

डलर अर्बपति उद्योगी एवं नेपाली कांग्रेसका नेता विनोद चौधरीले लुम्बिनी प्रदेश सरकारलाई प्रदेशको प्राथमिकरण गरेर काम गर्न सुझाव दिएका छन्। 

आज प्रदेश राजधानी देउखुरीमा मुख्यमन्त्री चेतनारायण आचार्यसँगको अन्तरक्रियामा प्रदेशको सम्भावना र आवश्यकता हेरेर विकासका कामको प्राथमिकीकरण गर्न सुझाव दिएका हुन्। 

पश्चिम नवलपरासी १ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित उद्योगपति एवं कांग्रेस नेता चौधरीले भने, अबको बजेट निर्माण गर्दा प्रदेश सरकारले स्वरोजगार प्रवर्द्धन, स्वास्थ्य सेवा सुधार, सामाजिक सेवा, पूर्वाधार निर्माण तथा लुम्बिनीको पर्यटन विकासलाई प्राथमिकता दिने गरी योजना बनाउँदा राम्रो हुन्छ। 

उनले लुम्बिनी प्रदेश पर्यटकीय हिसावले अत्यन्तै महत्वपूर्ण क्षेत्र भएकाले प्रदेश सरकारले यसको आन्तरिक र बाह्य प्रचारलाई व्यापक बनाउनुपर्ने बताए। उनले भने, मुख्यत यहाँको प्रचुर सम्भावना भनेको पर्यटन क्षेत्र हो। 

भगवान गौतम बुद्धको जन्मस्थल भएकाले विश्वभरका बौद्ध धर्मावलम्बीहरूलाई लुम्बिनी ल्याउने योजना बनाउन सकिन्छ। साथै बौद्ध सर्किट निर्माण गरेर यो प्रदेशकै पर्यटन विकासमा काम गर्न सके यहाँ रोजगारीका साथै आर्थिक रुपमा चलायमान बनाउन सकिन्छ। 

योजनामा कार्यक्रम राख्ने तर कार्यान्वयनका लागि स्ष्ट दृष्टिकोणको अभाव आफूले देखेको सांसद चौधरीको भनाई थियो। सांसद चौधरीले बुद्ध सर्किट निर्माण गर्न सके कपिलबस्तु, रुपन्देही र नवलपरासीको पर्यटन प्रवर्द्धनका साथै आर्थिक गतिविधि पनि व्यापक हुने बताए। 

मुख्यमन्त्री आचार्यले बुद्ध सर्किटलाई आपसमा जोड्न मोनोरेल सञ्चालन गर्ने प्रदेश सरकारको योजना रहेको बताए। उनले कपिलवस्तु, रुपन्देही र नवलपरासीलाई बुद्ध सर्किटमार्फत जोड्न मोनोरेल सञ्चालन गर्न सकिने आधार रहेको बताए। 

प्रदेश सरकारको एकल प्रयासले मात्रै विकास सम्भव नरहेकाले आफू निजी क्षेत्रसँग सहकार्य र साझेदारी गरेर अगाडि बढ्ने मुख्यमन्त्रीको भनाई थियो। उनले भने, प्रदेश सरकारले मोनोरेल सञ्चालनका लागि सम्भाव्यता अध्ययन गर्दैछ। यसमा  लगानीका लागि निजी क्षेत्रलाई आकर्षित गर्ने हाम्रो योजना छ। बुद्ध सर्किटको योजना प्रदेश सरकारले बनाएको छ। अब यहाँ मोनोरेल चलाउन सकिन्छ।

मुख्यमन्त्री आचार्यले गौतम बुद्धको जन्मस्थल लुम्बिनीलाई ब्रान्डिङ गर्ने तथा विश्वभरका बौद्ध धर्मावलम्बीहरूको पहिलो गन्तव्य स्थलका रूपमा विकास गर्न प्रदेश सरकारले पहल गरिरहेको बताए। नेपाल पर्यटन बोर्डमार्फत लुम्बिनीको समग्र विकासलाई जोडेर व्यापक योजना निर्माण गरिने पनि उनको भनाई थियो। 

सांसद चौधरीले पश्चिम नवलपरासीको विकासका कामका बारेमा मुख्यमन्त्रीलाई लिखित ज्ञापनपत्र बुझाएका थिए। उनले आफ्नो निर्वाचन क्षेत्रमा भइरहेका विकास निर्माणका कामसँगै आगामी बजेटमा समेट्नुपर्ने कार्यक्रमका बारेमा मुख्यमन्त्रीको ध्यानाकर्षण गराएका हुन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad