विभिन्न क्षेत्रमा सक्रिय आठ जना नागरिकले पूर्वराजा ज्ञानेन्द्र शाहले राजसंस्था पुन:स्थापनाको मनसायका साथ राजनीतिक सक्रियता थालेको भन्दै आपत्ति जनाएका छन्।
आज सोमबार एक विज्ञप्ति जारी गर्दै आठ नागरिकहरू मोहना अन्सारी, राजन कुइँकेल, कनकमणि दीक्षित, दिनेश त्रिपाठी, रिता परियार, सुशील प्याकुरेल, चरण प्रसाईं र हिरा विश्वकर्मालेले पूर्वराजाको सक्रियताबारे आपत्ति जनाएका हुन्।
पूर्वराजाले संविधान सभाबाट पारित नेपालको संविधान २०७२ को आलोचना गर्दै धर्मनिरपेक्षता, संघीयता र गणतन्त्रलाई अस्वीकार गर्ने संकेत दिएको भन्दै उनीहरूले आपत्ति जनाएका छन्। उनीहरूले लोकतान्त्रिक व्यवस्थालाई बलियो बनाउन जनताको सहभागिता आवश्यक रहेको उल्लेख गरेका छन्।
उग्रवाम, दक्षिणपन्थी तथा दर्शनहीन अवसरवादी तप्का ज्ञानेन्द्रलाई साथमा लिएर हिँड्न उत्साहित भएको उनीहरूको आरोप छ। उनीहरूले भारतको नेतृत्वसँग पूर्वराजाले राजगद्दीमा फर्किन पहल गरिरहेको पनि आरोप लगाएका छन्।
'ज्ञानेन्द्र शाहले राजगद्दीमा पुन:स्थापित हुन भारतको नेतृत्वसँग पहल गरेको कतैबाट लुकेको छैन। नयाँ दिल्लीले छिमेकका साना मुलुकमाथि आफ्नो हैकम लाद्न निरन्तर प्रयास गर्दै आएकोमा नेपालमाथि त एक दशकअघि झन्डै ६ महिनाको नाकाबन्दीसमेत लगाएको स्मृतिमा छँदै छ,' उनीहरूले भनेका छन्, 'यो पनि स्पष्ट छ कि नयाँ दिल्लीको संस्थापन नेपालको संविधान २०७२ सँग बेखुस छ भने नेपाललाई हिन्दू राष्ट्रतर्फ धकेलेर त्यसको श्रेय भारतीय जनता र मतदातासामु आफूले लिन चाहन्छ।'
भारत उत्तर प्रदेशका मुख्यमन्त्री आदित्यनाथले सार्वजनिक रुपमै राजतन्त्र फर्काउने चाहना व्यक्त गर्दै आएको र उनीसँग ज्ञानेन्द्र शाहले पटकपटक लखनउमा भेट गरेको विज्ञप्तिमा उल्लेख छ।
'भारतीय हिन्दूत्ववादी कट्टरपन्थीको आडमा नेपालमा राजतन्त्र फर्काउन खोज्दा नेपालको अखण्डतामा गम्भीर घात पर्छ भन्ने हाम्रो बुझाइ हो' उनीहरूले विज्ञप्तिमा भनेका छन्। 

Shares

प्रतिक्रिया