राजनीति


सभामुखलाई विपक्षी दलले भने: प्रधानमन्त्रीले जवाफ नदिएसम्म सदन चल्दैन

सभामुखलाई विपक्षी दलले भने: प्रधानमन्त्रीले जवाफ नदिएसम्म सदन चल्दैन

हितराज पाण्डे


नेपालखबर
चैत १४, २०८१ बिहिबार १२:४८, काठमाडौँ

नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशकबाट कुलमान घिसिङलाई हटाएको विषयमा संसद् बैठक अवरुद्ध हुँदै आएको छ। बुधबारको बैठकमा विपक्षी बेन्चका सांसदहरूले यही विषयलाई लिएर प्रधानमन्त्रीलाई जवाफ दिन सभामुखले रुलिङ गर्नुपर्ने अडान राखे। नियमित समयमा बिहान ११ बजे सुरु भएको बैठक कार्यसूचीमा प्रवेश नै नगरी आधा घण्टाका लागि स्थगित भयो। 

आधा घण्टाका लागि स्थगित भनिएको बैठक तीन घण्टापछिमात्रै सुरु भयो। बैठक सुरु भए पनि विपक्षी दलले विरोध कायमै राखे। त्यसपछि सभामुखले आज बिहीबार बिहान ११ बजेसम्मका लागि बैठक स्थगित भएको सूचना पढेर सुनाए। 

आज पनि ११ बजे बस्ने भनिएको बैठक बस्ने सुरसार छैन। विवाद समाधानका लागि प्रमुख राजनीतिक दलका प्रमुख सचेतकहरूसँग सभामुख देवराज घिमिरेले छलफल गरिरहेका छन्। 

तर, छलफलमा सहमति नजुटेको प्रमुख विपक्षी दल नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डे बताउँछन्। 

'सभामुखले दलहरूबीच सहमति गरौँ भनेर बोलाउनु भयो। यहाँ छलफलको विषय भनेको सदन सञ्चालनको विषय हो। सदन सरकारीपक्षका कारण सञ्चालन हुने वातावरण भएको छैन,' पाण्डेले नेपालखबरसँग भने, 'हामीले (विपक्षी दल) प्रधानमन्त्री सदनमा उपस्थित भएर जवाफ नदिएसम्म दायाँबायाँ केही नहुने कुरा यहाँ पनि दोहोर्‍यायौँ। अहिलेसम्म कुनै प्रगति छैन।'

प्रतिपक्षी दलले सदनमा कुलमानबारे प्रधानमन्त्रीको जवाफ माग गरे पनि प्रधानमन्त्री केपी शर्मा ओलीले भने सार्वजनिक मन्चहरूमा कुलमान घिसिङलाई हटाएको विषयमा जवाफ दिन आवश्यक नै नरहेको बताउँदै आएका छन्। 

गत सोमबार सरकारले मन्त्रिपरिषद् बैठकबाट नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक पदबाट कुलमानलाई हटाएर हितेन्द्रदेव शाक्यलाई नियुक्त गरेको थियो। चार महिनामात्रै कार्यकाल बाँकी रहँदा कुलमान बर्खास्तीमा परेका हुन्। 

उनले बर्खास्तीको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट पेस गरेका छन्।   

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad