संसद्को राज्य व्यवस्था तथा सुशासन समितिमा सांसदहरूले चैत १५मा भएको तीनकुने घटनाबारे गृहमन्त्री रमेश लेखकको जवाफ माग गरेका छन्। बुधबार समितिको बैठकमा सांसदहरूले गृहमन्त्रीलाई समिति बैठकमै बोलाउन माग गरेका हुन्।
कांग्रेसका महामन्त्रीसमेत रहेका सांसद विश्वप्रकाश शर्माले तीनकुने घटनाबारे सरकारको धारणा सार्वजनिक हुनुपर्ने बताए।
'राज्य व्यवस्था समितिको पहिलो ऐजेन्डा नै १५ गतेको घटना थियो। गृहमन्त्रीले जवाफ दिन अनुकूल मिलेन,' उनले भने, 'राज्यको बुझाइ के हो? भएको के हो? बुझाउनुपर्ने हो। चार हजार भीड रोक्ने क्षमता पनि नभएको राज्यको?'
कांग्रेसका सांसद हृदयराम थानीले सरकारको तर्फबाट गृहमन्त्री लेखकले बैठकमा घटनाबारे जानकारी गराउनुपर्ने बताएका हुन्। उनले प्रधानमन्त्री देश बाहिर भएकोले गृहमन्त्रीले जवाफ दिनुपर्ने बताए।
'चैत १५ गतेको घटनाक्रममा गृहमन्त्री बोलाऔँ। प्रधानमन्त्रीजी नै बोलाउनुपर्ने हो, उहाँ उता जानुभएको छ,' उनले भने।
कांग्रेसकै अर्की सांसद सरिता प्रसाईंले पनि घटनाबारे गृहमन्त्रीले समिति बैठकमा जवाफ दिनुपर्ने बताइन्। उनले भनिन्, 'गृहमन्त्रीले संसद्मा जवाफ दिने कुरा थियो। हिजो सांसद दीपक बोहराका निधनका कारण हुन सकेन। राज्य व्यवस्थामा बोलाएर आज सरकारको धारणा लिनुपर्ने थियो।'
चैत १५ गते काठमाडौँको तीनकुनेमा राजावादीले हिंस्रक प्रदर्शन गरेका थिए। प्रदर्शनमा एक पत्रकारसहित दुई जनाको ज्यान गएको थियो। घाइतेहरूको उपचार जारी छ। प्रदर्शनकारीले निजी र सरकारी संरचनामा समेत क्षति पुर्याएका थिए।
Shares

प्रतिक्रिया