राष्ट्रिय जनमोर्चाले आफ्ना दुई कार्यकर्तालाई प्रहरीले बिनाकारण पक्राउ गरेको भन्दै आपत्ति जनाएको छ।
बिहीबार राजधानीको अनामनगर क्षेत्रमा संघीयताविरुद्ध पर्चा बाँड्दै गरेको अवस्थामा प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको जनमोर्चाका महासचिव मनोज भट्टले जानकारी दिए।
‘संघीयता विरुद्धको आन्दोलनको प्रचार प्रसार गर्नेक्रममा तारा सोमरे मगर र गोपाल शिरिषलाई प्रहरीले पक्राउ गरेको हो’ महासचिव भट्टले भने, ‘उहाँहरूलाई काठमाडौँको अनामनगरबाट पक्राउ गरी करिब तीन घण्टा प्रहरी वृत सिंहदरबारको हिरासतमा राखिएको थियो। पार्टीको दबाबपछि प्रहरीले साँझ ६ बजे दुवैजनालाई बिनासर्त रिहा गरेको छ।’
आफ्ना कार्यकर्तालाई बिना कारण नियन्त्रणमा लिएर हिरासतमा राखेको भन्दै राजमोले आपत्ति जनाएको भट्टले बताए।
राष्ट्रिय जनमोर्चाले यही चैत २४ गतेदेखि संघीयताविरुद्ध साताब्यापी काठमाडौँ केन्द्रित आन्दोलन गर्दैछ।
सो आन्दोलनको प्रचार प्रसारका लागि काठमाडौँलगायत विभिन्न जिल्लामा पर्चा वितरण, सांस्कृतिक कार्यक्रम, सभा, कोणसभा लगायतका कार्यक्रम भइरहेको जनमोर्चाले जनाएको छ।
Shares

प्रतिक्रिया