नेकपा (एमाले)का सांसद रघुजी पन्तले चैत १५ गते काठमाडौंको तीनकुनेमा भएको राजावादीको हिंसात्मक प्रदर्शनबारे न्यायिक छानबिन आयोग गठन गर्न नहुने बताएका छन्।
आज शुक्रबार प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा सांसद पन्तले प्रदर्शनको विषयमा पूर्वराजा ज्ञानेन्द्र शाहसँग बयान लिनुपर्ने बताए।
'आपराधिक घटनामा सरकारले न्यायिक आयोग गठन गर्न हुँदैन। शान्तिपूर्ण आन्दोलनमा क्षति भए आयोग गठन गरिनुपर्छ,' उनले भने, 'श्री ५ भनेर सूचना जारी गर्न लगाउने र त्यसमा संलग्न व्यक्तिलाई किन कारबाही नगरेको? बयानमा किन नल्याएको?'
उनले राजावादी प्रदर्शनको योजनामा दुर्गा प्रसाईंको भूमिका रहेको आरोप लगाउँदै उनलाई समेत अनुसन्धानको दायरामा ल्याउनुपर्ने माग गरे। उनले दुईवटा प्रदर्शनका लागि किन अनुमति दिइएको भन्दै गृहमन्त्रीलाई प्रश्न गरे।
'तोडफोड र आगजनीको सम्भावना थियो भन्ने जानकारी रहेछ, भने दुई फरक प्रदर्शन एकैदिन गर्न दिने निर्णय किन गरियो?' उनले भने।
चैत १५ गते नै काठमाडौँको भृकुटीमण्डपमा नेकपा माओवादी केन्द्रसहित दलले समाजवादी मोर्चाको नाममा प्रदर्शन गरेका थिए।
समाजवादी मोर्चाको प्रदर्शन शान्तिपूर्ण रहँदा राजावादीको प्रदर्शन हिंसात्मक बनेको थियो। राजावादीको प्रदर्शनमा दुईजनाको ज्यान गएको थियो।
Shares

प्रतिक्रिया