राजनीति


भारतीय कृषिमन्त्रीले ओलीलाई भने: सानातिना अल्झन छाडेर महत्त्वपूर्ण विषयमा काम गरौँ

थाइल्यान्ड वार्ताले विश्वासको वातावरण बन्यो, इतिहास वा भावनामा नबगी आर्थिक विकासमा लाग्न तयार: ओली
भारतीय कृषिमन्त्रीले ओलीलाई भने: सानातिना अल्झन छाडेर महत्त्वपूर्ण विषयमा काम गरौँ

नेपालखबर
चैत २७, २०८१ बुधबार २०:१, काठमाडौँ

प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपाल भ्रमणमा रहेका भारतका कृषि तथा किसान कल्याणमन्त्री शिवराज सिंह चौहानले आज शिष्टाचार भेट गरेका छन्। 

बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिमस्टेक)का कृषिमन्त्रीहरूको बैठकका लागि नेपाल आएका मन्त्री चौहानले प्रधानमन्त्री निवास, बालुवाटारमा ओलीसँग भेट गरेका हुन्।  

मन्त्री चौहानले नेपाल र भारतबीचको परम्परादेखिको सम्बन्धका आयामबारे चर्चा गर्दै दुवै मुलुक मिलेर कृषिको आधुनिकता, खाद्य सुरक्षा र आर्थिक विकासका लागि काम गर्नुपर्नेमा जोड दिए।

मन्त्री चौहानले दुईपक्षीय सम्झौता र संयुक्त कार्य समूहहरूलाई गतिका साथ अगाडि बढाउनुपर्ने र सानातिना अल्झनका मुद्दा छाडेर थाँती रहेका महत्त्वपूर्ण विषयमा समान चिन्ताका साथ गतिशीलरुपमा काम गर्न आफू तयार रहेको बताए।

उनले हालै थाइल्यान्डको बैङ्ककमा प्रधानमन्त्री ओली र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच भएको भेटवार्ताले दुई देशका बीचमा आशाजनक भविष्य कोरेको उल्लेख गरेको प्रधानमन्त्रीको सचिवालयले दाबी गरेको छ।  

प्रधानमन्त्री ओलीले मानवीय जीवन बचाउन र उद्यमशीलताको विकास गर्न सबैभन्दा महत्त्वपूर्ण क्षेत्र कृषि भएकाले यसको आधुनिकीकरणसहित आर्थिक विकासका लागि दुई छिमेकी मिलेर अघि बढ्नुपर्नेमा समान धारणा व्यक्त गरे। 

प्रधानमन्त्री ओलीले भारतीय प्रधानमन्त्री मोदीसँग थाइल्यान्डमा भएको द्विपक्षीय भेटवार्ताले विश्वासको वातावरण बनेकाले अब इतिहास वा भावनामा मात्रै नबगी आर्थिक विकासका लागि मिलेर अगाडि बढ्ने कुरा भएको स्मरण गरे। उनले बदलिँदो विश्व परिवेशलाई आत्मसात् गर्दै त्यसबाट पर्न सक्ने नकारात्मक प्रभावलाई ध्यान दिएर राष्ट्रिय, क्षेत्रीय र अन्तर्राष्ट्रिय स्वार्थका लागि एकजुट हुनुपर्नेमा जोड दिए। 

भेटका अवसरमा प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवलगायत सहभागी थिए।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad