राजनीति


नयाँ वर्षको शुभकामना दिँदै रास्वपाले भन्यो- हाम्रो नेतृत्वविरुद्धको प्रतिशोध नयाँ सोचमाथिकै प्रहार हो

नयाँ वर्षको शुभकामना दिँदै रास्वपाले भन्यो- हाम्रो नेतृत्वविरुद्धको प्रतिशोध नयाँ सोचमाथिकै प्रहार हो

फाइल तस्बिर


नेपालखबर
बैशाख १, २०८२ सोमबार ८:४१, काठमाडौँ

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले राजनीतिमा पुरातन सोच राख्नेहरुले रास्वपाको मूल नेतृत्वविरुद्ध प्रतिशोध साँधेको आरोप लगाएको छ। 

नयाँ वर्ष २०८२ को अवसरमा शुभकामना सन्देश जारी गर्दै पार्टीका कार्यवाहक सभापति डोलप्रसाद अर्यालले नागरिकले रास्वपामार्फत् व्यक्त गरेको आशा र अपेक्षाप्रति नियोजित रुपमा घेराबन्दी बढाइएको बताएका छन्। 

‘राजनीतिको पुरातन सोचविरुद्ध नागरिकले रास्वपामार्फत् व्यक्त गरेको आशा र अपेक्षाप्रति नियोजित रुपमा बढाइएको घेराबन्दी र राजनीतिक स्वार्थका आधारमा रास्वपाको मूल नेतृत्वविरुद्ध साँधिएको प्रतिशोध एउटा दल र नेताप्रति गरिएको कुकर्म मात्र होइन, समग्र देशको रुपान्तरण गर्ने नयाँ सोच र प्रतिबद्धता माथिकै घातक प्रहार हो,’ शुभकामना सन्देशमा अर्यालले भनेका छन्, ‘यो प्रहारविरुद्ध न्यायप्रेमी नागरिकले सुरु गरेको प्रतिवादको हामी सम्मान गर्दछौँ।’  

गएका वर्षहरूमा नेपाली नागरिकले राजनीतिक स्थायित्व, सुशासन र पारदर्शिताप्रति देखाएको भरोसा र आकांक्षालाई गम्भीर रूपमा लिएको अर्यालले बताएका छन्। ‘पुराना राजनीतिक प्रवृत्तिहरूले नागरिकलाई थकित र निराश बनाएको यो बेला नयाँ सोच, संस्कार र शैलीको राजनीति आवश्यकता थप महसुस भएको छ,’ शुभकामना सन्देशमा भनिएको छ।

नागरिकको आवाजलाई राजनीतिको केन्द्रमा राख्दै रास्वपा भ्रष्टाचारविरुद्धको कठोर अडान, सेवा प्रवाहमा पारदर्शिता र जवाफदेहिता तथा नवप्रवर्तनमूलक सोचमार्फत् राष्ट्र निर्माणमा सशक्त भूमिका खेल्न दृढ संकल्पित रहेकोसमेत रास्वपाले जनाएको छ। 

राजनीति सिर्जित अराजकता, स्वेच्छाचारी शासन-सत्ता, जनसमस्या पहिचान र समाधानमा निरन्तर वेवास्ता जस्ता कारणले नागरिकमा बढेको निरासा आक्रोशमा बदलिने खतरामा सचेत र गम्भीर हुनुपर्नेमा सरकार र पुरातन राजनीतिक नेतृत्व आत्मालोचनासहित कमजोरी स्वीकार्नभन्दा विपक्षी विचार र दललाई प्रहार गर्न उद्दत रहेको आरोपसमेत रास्वपाले लगाएको छ। 

‘रास्वपा, यस प्रकारको अतिवादी हठ त्यागेर राजनीतिक समस्याको समाधान सहमति र संवादमार्फत् खोज्न तथा नागरिकका स्वभाविक चासो, चिन्ता र सरोकारलाई बेलैमा सम्बोधन गर्न अनुरोध गर्दछ,’ शुभकामना सन्देशमा भनिएको छ।

रास्वपाले वर्ष २०८२ मा नै नागरिक लक्षित सघन छलफल र गम्भीर परामर्शका लागि अधिकभन्दा अधिक नागरिक वृत्तसँग आउने प्रतिबद्धता व्यक्त गर्दै ती कार्यक्रम मार्फत् सही मार्गदर्शन, यथोचित सरसल्लाह र देश निर्माणको रुपरेखा निर्माणमा महत्वपूर्ण सुझाव प्रदान गर्न पनि आम नागरिकमा रास्वपाले अनुरोध गरेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad