राजनीति


प्रदीप ज्ञवालीको टिप्पणी– प्रचण्डको सत्ता अधीरता अचम्मलाग्दो

प्रदीप ज्ञवालीको टिप्पणी– प्रचण्डको सत्ता अधीरता अचम्मलाग्दो

नेपालखबर
बैशाख ४, २०८२ बिहिबार १६:२८, काठमाडौँ

सत्तारुढ नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को सत्ता अधीरता अच्चमलाग्दो रहेको टिप्पणी गरेका छन्। सामाजिक संजाल फेसबुकमा लामो स्टाटस राख्दै दिनदिनै सरकार ढल्न लाग्यो भन्ने गरेको पछिल्लो अभिव्यक्ति सातौं संस्करणको भएको उनको मत छ। 

‘कामरेड प्रचण्डको सत्ता अधीरता अचम्म लाग्दो छ,’ ज्ञवालीले लेखेका छन्, ‘एकातिर कार्यकर्ताका बीचमा भन्नुहुन्छ– ‘हाम्रो पक्षमा २०६४ जस्तो लहर आइरहेको छ– २०८४ मा देखाइदिन्छौँ, अहिले त हामीलाई सरकारतिर हेर्ने फुर्सद पनि छैन। अर्कातिर हप्तैपिच्छे, महिनैपिच्छे सरकार आज ढल्यो, भोलि ढल्यो भन्ने भविष्यवाणी पनि गर्न छाड्नु हुन्न। भर्खरै त्यस्तै भविष्यवाणीको संभवतः सातौँ संस्करण सार्वजनिक भएको छ।’

‘हङ पार्लियामेन्ट’भित्र सङ्ख्या जुटाउनेले सरकार बनाउने र त्यो सामान्य नरहेको भन्दै उने आफ्नो पार्टी लोकप्रिय छ भन्ने लागेको छ भने अर्लि चुनाव माग गर्न समेत आग्रह गरेका छन्।

‘यति चाहिँ भनी हालूँ– आफ्नो पार्टी बलियो छ, लोकप्रिय छ भन्ने विश्वास भएकाहरुले अर्लि चुनाव माग्छन्,’ ज्ञवालीको भनाइ छ, ‘कतिबेला सरकार ढल्ला र कुँदिहालौंला भन्दैनन्। बुढापाकाहरु त्यसै भनेका होइनन् नि– खाना खाएपछि पानी खाने ठाउँ बाँकी राख्नु है नानी हो।'

ज्ञवालीको पूरा टिप्पणी यस्तो छ-
कामरेड ‘प्रचण्ड‘ को सत्ता अधीरता अचम्म लाग्दो छ । एकातिर कार्यकर्ताका बिचमा भन्नुहुन्छ– ‘हाम्रो पक्षमा २०६४ जस्तो लहर आइरहेको छ– २०८४ मा देखाइदिन्छौँ, अहिले त हामीलाई सरकारतिर हेर्ने फुर्सद पनि छैन ।’ अर्कातिर हप्तैपिच्छे, महिनैपिच्छे सरकार आज ढल्यो, भोलि ढल्यो भन्ने भविष्यवाणी पनि गर्न छाड्नु हुन्न । भर्खरै त्यस्तै भविष्यवाणीको संभवतः सातौँ संस्करण सार्वजनिक भएको छ ।

ओशोले कतै सुनाएको कथा छ, दुई बालब्रह्मचारीहरु बारे । गुरुले ‘हेर है बाबु हो, स्त्रीहरुतिर फर्केर पनि नहेर्नू ’ भनेर सिकाएका रहेछन् । एकदिन कतै जाँदै गर्दा उनीहरूले नदी किनारमा एकजना महिला रोइरहेको भेटेछन् । वर्षातको नदी उर्लिरहेको थियो र उनी नदीपारी घरमा रहेको दुधे बालकको मायाले विह्वल भइरहेकी थिइन् । उनले ती सन्यासीहरुलाई पारी तारिदिन अनुनय विनय गरिन् । पहिलोले त त्यता हेर्दा पनि हेरेन, दोस्रोले चाहिँ ती आमाको पीडा सहन गर्न नसकेर काँधमा बोकेर पारी तारिदियो, अर्कोले त्यसो नगर भन्दाभन्दै पनि ।

पारी तरिसकेपछि पहिलोले दोस्रोलाई आक्षेप लगायो– तैँले गुरु वचन तोडिस्, स्त्रीप्रति आशक्त भइस् । दोस्रोले धेरै पल्ट सम्झाउने कोशिस गर् यो, ‘होइन भाइ, मैले त विशुद्ध मानवीय नाताले पारी तारिदिएको हुँ ।‘ तर पहिलोले पिछा छाडेन । ‘त्यस आइमाईको लुगा भिजेको थियो, तिघ्रा देखिएको थियो, तँ पक्कै बिटुलिएको हुनुपर्छ’ भन्दै गाली गर्न थालेपछि पहिलोले भनेछ– ‘भाइ, मेरो दिमागबाट त ती महिला उहिल्यै हराइसकिन् । तर तँ चाहिँ पक्कै आशक्त रैछस्, किनभने तैँले उनलाई एउटी आमाका रुपमा होइन, भोग्या स्त्रीका रुपमा हेरिस् र अझ पनि त्यही कल्पेर बसिरहेको छस् । तँसँग आजबाट मेरो बाटो फाट्यो ।’

प्रचण्ड सरको सत्ता अनाशक्ति पनि यस्तै केही होला !

उहाँले एमाले– काँग्रेस सहकार्यलाई दुई तिहाईको होइन, ’षडयन्त्रको सरकार’ भन्न भ्याउनु भएछ । हो नि सर, २०७४ सालमा नेपाली काँग्रेससँग सरकारमा रहँदारहँदै एमालेसँग वाम तालमेल गर्नु पनि एकदमै ‘नैतिक’ थियो, नेकपाको दुई तिहाइको सरकार ढालेर नेपाली काँग्रेसलाई सत्तामा पुर् याउन अदालतमा हालिएको मुद्दा पनि ‘सैद्धान्तिक’ नै थियो, पाँच दलीय गठबन्धनका आधारमा चुनाव लडेर २०७९ पुस १० मा एमालेको समर्थनमा प्रधानमन्त्री बन्नु पनि एकदमै ‘सङ्गतिपूर्ण‘ थियो र त्यसै अवधिमा तीन–तीन पटक सत्ता– सहयात्री फेर्नु पनि ‘शुद्ध राजनीतिक परिघटना’ थियो । किनभने त्यहाँ ‘पारसमणि’ का रुपमा यहाँ हुनुहुन्थ्यो, सरले छोएपछि त फलाम पनि सुन नै बन्ने भयो नि !

हङ पार्लियामेन्टभित्र सङ्ख्या जुटाउनेले सरकार बनाउँछन् । यसलाई असाध्यै धेरै सैद्धान्तिकरण गर्नु बाञ्छनीय हुँदैन । निःसन्देह, आफूले बनाउने समीकरणबाट सम्बन्धित पार्टीहरुले आफ्ना लक्ष्य र उद्देश्यहरु हासिल गर्ने अधिकतम कोशिस गर्छन् ।

यति चाहिँ भनी हालूँ– आफ्नो पार्टी बलियो छ, लोकप्रिय छ भन्ने विश्वास भएकाहरुले ‘अर्लि चुनाव‘ माग्छन्, कतिबेला सरकार ढल्ला र कुँदिहालौंला भन्दैनन् ।

बुढापाकाहरु त्यसै भनेका होइनन् नि– खाना खाएपछि पानी खाने ठाउँ बाँकी राख्नु है नानी हो !

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad