राजनीति


सर्वदलीय बैठकमा लिङ्देनले भने- सरकारका गलत क्रियाकलापले पूरै देशलाई असर पर्छ

सर्वदलीय बैठकमा लिङ्देनले भने- सरकारका गलत क्रियाकलापले पूरै देशलाई असर पर्छ

नेपालखबर
जेठ २५, २०८३ सोमबार १२:३, काठमाडौँ

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङदेनले  वैदेशिक मामिलाको सवालमा संवेदनशीलता अपनाउन सरकार र सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई सुझाव दिएका छन्। 

सोमबार रास्वपा सभापति रवि लामिछानेले बोलाएको सर्वदलीय बैठकमा सहभागी भएपछि सञ्चारकर्मीसँग कुरा गर्दै लिङ्देनले प्रधानमन्त्री वालेन्द्र शाहले संसदमा र सभापति लामिछानेले भारत भ्रमणको क्रममा आफूले विगतको भारी नबोक्ने भनि दिएको अभिव्यक्ति अपरिपक्व भएको बताए।

‘अहिले रास्वपाले जुन जीत हासिल गरेको छ र भारत भ्रमणमा पनि सभापतिजीले जुन विशेष खालको स्वागत प्राप्त गर्नु भएको छ। त्यसलाई अवसरमा परिणत गर्नुस भनेर सुझाव दिएको छु,’ उनले भने। 

नेपालले संसदबाट सर्वसम्मतीले पारित गरेको लिपुलेक, लिम्पियारधुरा र कालापानी नेपालको हो भनि गरेको प्रमाणलाई समेत कमजोर बनाउने खालको भएको जिकिर गर्दै त्यस्ता कुरामा होशियारी अपनाउन पनि आग्रह गरेको बताए। 

‘विगतको भारी बोक्दैनौ भन्नुको अर्थ त विगतमा सबै नराम्रा भएका थिए। हामीले लिम्पियाधुरा, लिपुलेक, कालापानी हाम्रो हो भनेर हाम्रो ऐतिहासिकता, हाम्रो तथ्य, प्रमाणहरुको आधारमा त्यसलाई सर्वसम्मतीले संसदबाट पारित गरेर संविधानको अनुसूचिमा समेत समावेश गरिसकेको चिज त्यो पनि बोक्दिन भन्ने अर्थ लाग्न सक्छ,’ उनले भने, ‘त्यसलाई पनि नयाँ ढंगले छलफल गर्न सकिन्छ भन्ने खालको अर्थ लाग्न सक्छ। त्यसकारणले वैदेशिक सवालको सम्बन्धमा संवेदनशीलता अपनाइयोस।’

सरकारको गलत क्रियाकलापको भार सम्पूर्ण देशले बेहोर्नुपर्ने हुनाले पनि सरकारले वैदेशिक मामिलाको सवालमा सम्वेदनशीलता उपनाउन आवश्यक रहेको लिङ्देनको तर्क थियो। 

‘यो सरकारले गर्ने गलत क्रियाकलापको भार सम्पूर्ण देशले बेहोर्नुपर्ने हुन्छ। त्यसकारणले अलिकति परिपक्व व्यवहार गरियोस्,’ लिङ्देनले भने, ‘चाहे प्रधानमन्त्रीले सीमा सम्बन्धमा अस्ति संसदमा दिनुभएको मन्तव्य होस्। अथवा रास्वपाका सभापतिले भारतमा गएर हामीले विगतको भारी बोक्दैनौ भन्नुभएको कुरा होस्। त्यसले धेरै अर्थ राख्छ।’

अध्यक्ष लिङदेनले सरकारले जनताले दिएको मतलाई अवसरको रुपमा उपयोग गर्नुपर्ने पनि बताए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad