राजनीति


लिङ्देनले लक्ष्य गरेका व्यक्ति त्यस दिन नेपालमै थिएनन्: नेपाली कांग्रेस

‘कार्यकर्ताले गरेका अवाञ्छित क्रियाकलाप र लुटपाट ढाकछोप गर्ने उद्देश्य’
लिङ्देनले लक्ष्य गरेका व्यक्ति त्यस दिन नेपालमै थिएनन्: नेपाली कांग्रेस

फाइल तस्बिर: कांग्रेसका प्रचार विभाग प्रमुख मीनबहादुर विश्वकर्मा र राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन


नेपालखबर
बैशाख १५, २०८२ सोमबार १०:१४, काठमाडौँ

सत्तारुढ दल नेपाली कांग्रेसले (२०८१) चैत १५ गते तीनकुनेमा गरिएको हिंसात्मक प्रदर्शनमा आफ्नो पार्टीका एकजना सहमहामन्त्रीका छोरालाई प्रहरीले पक्राउ गरेको तर गृहमन्त्रीको आदेशले छाडिएको भनी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले दिएको अभिव्यक्ति भ्रमपूर्ण र कपोलकल्पित भनेको छ। 

कांग्रेसका केन्द्रीय सूचना, सञ्चार तथा प्रचार विभाग प्रमुख मीनबहादुर विश्वकर्माले विज्ञप्ति जारी गरी त्यस दिन समातिएका भनिएका व्यक्ति नेपालमै नरहेको दाबी गर्दै आफ्ना अवाञ्छित क्रियाकलाप र लुटपाट ढाकछोप गर्न राप्रपा अध्यक्ष लिङ्देनले दिएको अभिव्यक्तिको घोर भर्त्सना र निन्दा गरेका छन्। 

‘२०८२ वैशाख १२ गते राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष माननीय राजेन्द्र लिङ्देनले सम्मानित संसद्‌मा आफ्नो मन्तव्यको क्रममा गत चैत्र १५ गते राप्रपासहित राजावादीहरूद्वारा आयोजित विरोध कार्यक्रमको समयमा काठमाडौँको कोटेश्वरस्थित भाटभटेनीमा भएको तोडफोड र लुटपाटमा नेपाली कांग्रेसका एकजना सहमहामन्त्रीका छोरासमेत संलग्न भई प्रहरीद्वारा समातिएको र गृहमन्त्रीको आदेशले उनको रिहाइ गरिएको भनी दिनुभएको भ्रमपूर्ण अभिव्यक्तिप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ’, विज्ञप्तिमा भनिएको छ, ‘अध्यक्ष लिङ्देनले लक्षित गर्नुभएको व्यक्ति एक जिम्मेवार नेपाली हुन् र उनी सो दिन नेपालमा समेत नरहेको अवस्थामा राष्ट्रिय प्रजातन्त्र पार्टीका कार्यकर्ताहरूले गरेका अवाञ्छित क्रियाकलाप र लुटपाटको ढाकछोप गर्ने उद्देश्यले सो अवाञ्छित कार्यको दोष एक जना जिम्मेवार र सभ्य नागरिकमाथि लगाउनु अत्यन्तै निन्दनीय कार्य भएकोले उक्त अभिव्यक्तिको नेपाली कांग्रेस घोर भर्त्सना र निन्दा गर्दछ। साथै एउटा राजनीतिक पार्टीका अध्यक्षको तर्फबाट सम्मानित संसद्‌मा आधारहीन कुराहरू प्रस्तुत गर्नुभन्दा पनि आफ्ना नेता, कार्यकर्ता तथा समर्थकलाई अनुशासित र जिम्मेवार बनाउनतर्फ विशेष ध्यान दिनसमेत हामी आग्रह गर्दछौँ र अध्यक्ष लिङ्देनले राजनीतिक अभीष्ट पूरा गर्न अर्काको प्रतिष्ठा तथा सामाजिक मर्यादाप्रति संवेदनशील भई आफ्नो पद र सम्मानित संसद्‌समेतको गरिमालाई ध्यानमा राख्न आग्रह गर्दै यस्ता कपोलकल्पित र भ्रामक कुराहरूबाट सचेत रहन समेत सबैलाई आग्रह गर्दछौँ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad