नेपाली कांग्रेसका सांसद मोहन बस्नेतले केही गर्न खोज्ने राजनीतिक नेता र कर्मचारीलाई अहिले मुद्दा लागिहाल्ने गरेको भन्दै कोही पनि यसबाट नबच्ने चेतावनी दिएका छन्।
मंगलबार प्रतिनिधिसभामा नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै यस्तो परिस्थितिको अन्त्य गर्नुपर्नेमा जोड दिए। ‘अहिले यो देशमा कर्मचारी वा नेता जसले पनि गतिलो काम गर्न खोज्यो उसलाई मुद्दा लागिहाल्छ,’ बस्नेतले भने, ‘यहाँ म पनि अछुतो रहन्न, कहिले आउँछ पालो भन्ने मात्रे हो।’
यसले कोही महत्वकांक्षी र केही गर्छु भन्ने नेताहरुलाई अप्ठ्यारोमा पार्ने उल्लेख गरे। बस्नेतले भने, ‘तपाईंहरु कोही अछुतो रहनुहुन्न, एकदम सक्रिय राजनीतिक जीवन र महत्वकांक्षी, मुलुकलाई केही गर्न खोज्ने राजनीतिक जीवन बिताउन खोज्नुभयो भने कोही बच्ने वाला छैन।’
नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीलाई पक्राउ गर्न पत्र काट्ने कर्मचारी सिन्धुपाल्चोकमा गाविस सचिव हुँदा अध्यक्षलाई सरुवा गरिदिन्छु भन्ने धम्की दिएको भन्दै बस्नेतले उनीमाथि कडा कारबाही गर्नुपर्ने माग समेत गरे।
‘रेशम चौधरीलाई थुन्ने मान्छे सिन्धुपाल्चोकमा सचिव हुँदा अध्यक्षलाई सरुवा गरिदिन्छु भनेको रहेछ। कस्तो मान्छे होला?,’ उनले भने, ‘जे भए पनि यो गलत कुरा हो। यो एउटा प्रवृत्ति हो। यसमाथि कडा कारबाही हुनुपर्छ। यो आज उहाँहरुलाई पर्यो, भोलि कसैलाई पर्ला।’
Shares

प्रतिक्रिया