नेपाली कांग्रेसले असार मसान्तसम्म क्रियाशील सदस्य नवीकरणसम्बन्धी सबै काम सक्न निर्देशन दिएको छ। बुधबार बसेको क्रियाशील सदस्यता व्यवस्थापन समितिको बैठकले असारभित्र क्रियाशील सदस्यता नवीकरणको काम सम्पन्न गर्न जिल्ला कार्यसमितिलाई निर्देशन दिएको हो।
महामन्त्री गगनकुमार थापा नेतृत्वको क्रियाशील सदस्यता व्यवस्थापन समितिमा केन्द्रीय सदस्यहरू सीता गुरूङ, योगेन्द्र चौधरी र प्रकाश रसाइली छन्।
यसअघि गत चैत मसान्तभित्र क्रियाशील सदस्यता नवीकरणको काम सक्न भनिएको थियो। उक्त मितिमा सम्पन्न नभएपछि वैशाख १५ गतेसम्मलाई अर्को मिति तोकिएको थियो। अधिकांश जिल्लामा
क्रियाशील सदस्यताको विषय नटुंगिएपछि असारसम्मलाई अर्को मिति तोकिएको हो।
क्रियाशील सदस्यता नवीकरणको काम अधिकांश जिल्लामा ३० देखि ६० प्रतिशतसम्म टुंगिएको कांग्रेसले जनाएको छ। समिति सदस्य प्रकाश रसाइलीले नवीकरण बाँकी भएका सबै मातहतका समितिलाई असारभित्र टुंग्याउन निर्देश गरिएको बताए।
'असार मसान्तसम्म सदस्यता नवीकरणको काम सक्नै पर्नेहुन्छ। उक्त समयमा पनि नवीकरणको काम भएन भने सिस्टम बन्द हुने बनाइएको छ,' उनले भने, 'त्यसपछि नवीकरणको प्रक्रिया नै हुँदैन।' नवीकरणको काम सकिएपछि नयाँ सदस्यता वितरणको काम सुरु हुने उनको भनाइ छ।
Shares

प्रतिक्रिया