झन्डै १० वर्षपछि सचिव बनेर नेकपा माओवादी केन्द्रमा फर्किएका गंगानारायण श्रेष्ठ शुक्रबार पहिलोपटक पार्टीको पदाधिकारी बैठकमा सहभागी भए।
यही जेठ १२ गते माओवादी केन्द्रको सचिव बनेपछि पहिलोपटक शुक्रबार (जेठ १६ गते) बिहान पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निवास खुमलटारमा बसेको पदाधिकारी बैठकमा उनी सहभागी भएका हुन्।

सचिव बनेर पहिलोपटक माओवादी केन्द्रको पदाधिकारी बैठकमा सहभागी हुँदाको फरक अनुभूति श्रेष्ठले नेपालखबरलाई सुनाएका छन्।
‘पदाधिकारी (सचिव) भएर माओवादी बैठकमा सहभागी भएको यो पहिलो अनुभव हो। सानो पार्टीको मुख्य नेता हुनु र ठूलो पार्टीको पदाधिकारी हुनुमा फरक अनुभव त हुन्छ नै, जिम्मेवारीबोध पनि गहिरो ढंगले भएको छ’, श्रेष्ठले भने, ‘यो समाजवादीको आधार निर्माण गर्ने कुरामा पार्टीलाई एकताबद्ध बनाएर लैजाने कुरामा मेरो आफ्नो प्रतिबद्धता आजको बैठकमा राखेँ। मैले सकेको, आफ्ना जीवनमा प्राप्त गरेका अनुभव इमान्दारपूर्वक योगदान गर्न तयार छु।’
यसअघि २०७२ असोजमा माओवादी छाड्दा उनी पोलिटब्युरो सदस्य मात्र थिए। ९ वर्ष ८ महिना अन्य विभिन्न पार्टीमा बिताएका श्रेष्ठ अहिले भने सचिव बनेर माओवादी केन्द्रको पदाधिकारी बनेका हुन्।
२०४३ देखि कम्युनिस्ट पार्टीमा आबद्ध श्रेष्ठ ५६ वर्षको उमेरमा माओवादी केन्द्रको सचिव बनेका हुन्। जुन उनका लागि जीवनमा अहिलेसम्मकै उच्च तहको पद हो।
यसअघि नेपाल समाजवादी पार्टी (नेसपा) मा रहेका श्रेष्ठ डा. बाबुराम भट्टराईपछि महीन्द्र राय यादवलाई पनि छाडेर जेठ १२ गते माओवादीमा फर्किंदै सचिव बनेका हुन्।
यही जेठ ११ गते महिन्द्र राय यादव नेतृत्वमा रहेको नेसपा पुनर्गठन गर्दै आफूलाई संयोजक घोषणा गरेका श्रेष्ठ भोलिपल्टै जेठ १२ गते माओवादी केन्द्रमा मिसिएका हुन्।
बागमती प्रदेश सभा सदस्य (सांसद) रहेका उनी शुक्रबार खुमलटारमा माओवादी केन्द्रका प्रभावशाली नेताहरू राम कार्की, देवेन्द्र पौडेल, चक्रपाणि खनाल, लीलामणि पोखरेल, हितराज पाण्डे, गणेश साह, हितमान शाक्य, डिलाराम आचार्यसँगै बसेका थिए।
Shares

प्रतिक्रिया