प्रधानमन्त्री केपी शर्मा ओली, कांग्रेस सभापति शेरबहादुर देउवा, पुष्पकमल दाहाल 'प्रचण्ड'सहितको बैठकमा राजावादीहरूको प्रदर्शनबारे छलफल भएको छ।
सिंहदरबारमा भएको छलफलमा तीनै दलका दोस्रो तहका नेताहरूसमेत सहभागी थिए।
छलफलमा ओली र देउवाले प्रतिगामीहरू सक्रिय भएको भन्दै प्रतिनिधिसभाको बैठक सञ्चालनमा अवरोध नगर्न प्रचण्डसहितका नेतालाई आग्रह गरेका थिए।
छलफलमा सहभागी नेता महिन्द्रराय यादवका अनुसार दुवै शीर्ष नेताले सदन सञ्चालनका लागि अनुरोध गरेका थिए। 'देउवा र ओलीले देशको परिस्थिति बिग्रिएको र प्रतिगामी सक्रिय भएको भन्दै सदन सञ्चालनमा अवरोध नगर्न भन्नुभयो' उनले नेपालखबरसँग भने।
जवाफमा प्रचण्डसहितका विषक्षी नेताले भने भोलि बिहान विपक्षी दलहरूको बैठक रहेको र उक्त बैठकबाट मात्रै सदन चल्न दिने या नदिनेबारे निर्णय हुने जानकारी गराएको उनको भनाइ छ।
'उहाँहरूले सदन सञ्चालनबारे कुरा गर्नुभयो। हामीले भोलि बिहान विपक्षी दलको बैठक हुन्छ। सदन चल्न दिने नदिने विषय त्यही बैठकपछि तय हुन्छ भन्यौँ' उनले भने।
विपक्षीले भिजिट भिसा प्रकरणमा मुछिएका गृहमन्त्री लेखको राजीनामालाई बटम लाइन बनाएर सदन अवरोध गरिरहेका छन्।
Shares

प्रतिक्रिया