नेपाली कांग्रेसका सांसद विमलेन्द्र निधिले संसद् सञ्चालन गर्न दिन आग्रह गरेका छन्। आइतबार भक्तपुरमा आयोजित एक कार्यक्रममा निधिले संसद् चल्न दिने/नदिने नेकपा (माओवादी केन्द्र)कै हातमा रहेको बताए।
संसदीय प्रणालीमा आइसकेपछि संसदीय प्रणालीको नियमअनुसार संसद् सञ्चालन गर्न दिनुपर्ने उनको भनाइ छ। उनले भिजिट भिसा प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन गरिरहेकाले राजीनामा माग गरेर संसद् अवरुद्ध गर्न आवश्यक नरहेको बताए।
'संसद् अहिले अवरुद्ध छ। प्रतिपक्षीले अवरोध गरिरहेको छ। अब यो घडीमा आएर माओवादीकै हातमा संसद् चल्न दिने वा नदिने भन्ने रहेको छ,' उनले भने।
उनले अहिलेको विषय राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको जस्तो मुद्दा नरहेको जिकिरे। वर्तमान गृहमन्त्री रमेश लेखकमाथि कुनै आरोपसमेत नलागेको उनको दाबी छ।
'रास्वपाका नेताको जस्तो विषय होइन, यो। रास्वपाको नेतालाई त छानबिन गर्दैगर्दा अनुसन्धान गर्दैगर्दा बोलेकै थियो। रवि लामिछानेको घटनामा तपाईंमाथि यस्तो भनिएको छ, तपाईं किन बोल्नुहुन्न भन्ने तर्क तपाईंको यसमा लागु हुँदैन,' उनले भने।
Shares

प्रतिक्रिया