राजनीति


आलोचनापछि माओवादीले सभामुखलाई भन्यो: संख्याको बलमा रास्वपालाई नपेलौँ

आलोचनापछि माओवादीले सभामुखलाई भन्यो: संख्याको बलमा रास्वपालाई नपेलौँ

नेपालखबर
असार १, २०८२ आइतबार १६:२५, काठमाडौँ

नेकपा माओवादी केन्द्रका सांसद् एवं पूर्वअर्थमन्त्री वर्षमान पुनले राष्ट्रिय स्वतन्त्र पार्टीसहित प्रतिपक्षलाई संसद्‌मा नपेल्न सत्तापक्ष र सभामुख देवराज घिमिरेलाई आग्रह गरेका छन्। 

आइतबार प्रतिनिभिसभामा विनियोजन विधेयक २०८२/०८३ को बजेटमाथिको सामान्य छलफलमा भाग लिँदै पुनले संख्याको बलमा प्रतिपक्षीलाई पेलेर अघि बढ्ने सोच त्याग्न आग्रह गरेका हुन्। 

भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा माग्दै रास्वपाका सांसदहरूले आज पनि वेल घेराउ गर्दै नाराबाजी गरेका थिए। शुक्रबारभन्दा अघिको प्रतिनिधिसभामा माओवादीले पनि रास्वपा र राप्रपाको जस्तै गरी गृहमन्त्रीमाथि छानबिन गर्नुपर्ने र मार्गप्रशस्त गर्नुपर्ने माग राख्दै सदन चल्न दिएको थिएन। 

तर शुक्रबार एकाएक सत्तारुढ दल नेकपा एमाले र नेपाली कांग्रेससँग दुई बुँदे सहमति गरेपछि माओवादी विरोधमा उत्रिन छाडेको छ। 

आजको बैठकमा पुनले रास्वपालाई पनि बजेटमाथिको छलफलमा सहभागी हुने वातावरण बनाउन उनले आग्रह गरे। संसद्‌का दुई ठूला दल र प्रमुख प्रतिपक्षी दलसँग दुई बुँदे सहमति भएकाले बाँकीलाई पेलेरै जान सकिन्छ भन्ने नठान्न उनले चेतावनी दिए। संसदीय अंकगणित र सत्तापक्ष र प्रतिपक्षीको भूमिका हेरफेर भइरहने विषय ख्याल गर्न उनले सत्तारुढ दलहरुलाई आग्रह गरे । 

‘सम्माननीय सभामुखज्यू संसदको अभिभावक पनि हुनुहुन्छ। सत्तापक्षका साथीहरुलाई पनि जबर्जस्ती बल प्रयोग नगरी संयमित ढंगले प्रस्तुत हुन आग्रह गर्दछु’, पुनले भने, ‘ प्रमुख प्रतिपक्षी दल सहमतिमा आइसक्यो। अब यसलाई पेले पनि हुन्छ भन्ने ठान्नु हुँदैन। किनभने कहिले को सत्तापक्षमा, कहिले को प्रतिपक्षमा हुन्छ । कहिले कसको संख्या सानो हुन्छ कहिले कसो ठूलो हुन्छ। संसदीय गणित हेरफेर भइराख्ने कुरा हो।’ 

पुनले रास्वपालाई संसद्‌मा एक्ल्याइयो भन्ने ठानेर विगतदेखिका राजनीतिक एजेण्डामा रास्वपासँग प्रतिशोध साँध्ने मौकाका रुपमा उपयोग खोजिए राम्रो नहुने चेतावनी दिए। ‘यही बेलामा विगतदेखिका केही सानातिना कुरालाई लिएर प्रतिशोध लिइहालौं भन्नेजस्तो सत्तापक्षले गर्न मिल्दैन,' उनले भने, 'सत्तापक्ष जिम्मेवार बन्नुपर्छ र संसदको अभिभावकको भूमिकामा रहनुभएको सम्माननीय सभामुख महोदयले उहाँहरुलाई पनि संवादमा ल्याउने र बजेटमा आफ्ना धारणा राख्ने वातावरण बनाउने प्रयास गर्नुपर्छ ।’

 पुनले केही दिनअघिसम्म मिलेर संसद् अवररुद्ध गरिएको र भिजिट भिसा प्रकरणमा छानबिन गर्ने र त्यसका लागि संरचना बनाउन सत्तापक्षबाट प्रतिबद्धता आइसँगै माग सम्बोधन भएकाले संसदको नियमित प्रक्रियामा सहभागी हुन आग्रह गरे। 

‘हिजो अस्तिसम्म हामी सँगसँगै संसद् अवरोध गरिराखेका थियौँ।  रास्वपाका माननीयज्यूहरुलाई म के अनुरोध गर्न चाहन्छु भने यहाँहरु संसदीय संघर्षमा नयाँ हुनुहुन्छ,' उनले थपे, 'हामीले उठाएका कुराहरुको एक ढंगले सम्बोधन भएको छ । बजेटमाथिको छलफल वर्षमा एकपटक मात्र हुने कुरा हो । यसमा आफ्नो दलका धारणा राख्नुस्।’ 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad