राजनीति


बजेटले दीर्घकालीन सुधारलाई सम्बोधन गर्ने स्पष्ट संकेत गरेको छ : सांसद कार्की

बजेटले दीर्घकालीन सुधारलाई सम्बोधन गर्ने स्पष्ट संकेत गरेको छ : सांसद कार्की

नेपालखबर
असार २, २०८२ सोमबार १४:८, काठमाडौँ

नेपाली कांग्रेसका सांसद ज्ञानेन्द्रबहादुर कार्कीले आगामी बजेटले दीर्घकालिन सुधारलाई सम्बोधन गर्ने स्पष्ट संकेत गरेको बताए। 

सोमबार प्रतिनिधिसभा बैठकमा ‘आर्थिक वर्ष २०८२/०८३ को राजस्व र व्ययको वार्षिक अनुमान’माथिको सामान्य छलफलमा भाग लिँदै सांसद कार्कीले बजेटले निर्धारण गरेका प्राथमिकता र लक्ष्य उपयुक्त रहेको बताए।

पूर्वअर्थमन्त्री समेत रहेका उनले उच्च, दिगो एवं फराकिलो आर्थिक वृद्धिदर हासिल गरी गरिबी निवारण, उद्यमशीलता, विकास र सार्वजनिक तथा निजी लगानी विस्तारलाई बजेटले उद्देश्यमा राखेको बताए। 

लक्ष्य र आकांक्षाहरु प्राप्त गर्न त्यति सहज नभएपनि नेपालको राजनीतिमा गहिरो प्रभाव पार्ने दुई ठूला दलले निर्माण गरेको सरकारले ल्याएको बजेट यथार्थमा उभिएका हुनाले जनताका आकांक्षाहरु परिपूर्ति गर्नका निमित्त समयवद्ध र चरणवद्ध हिसावले अगाडि बढेको सांसद कार्कीको दाबी छ। 

कार्कीको भनाइ छः

मेरो विचारमा यो बजेटले मुलुकको वर्तमान आर्थिक यथार्थता, जनअपेक्षा र दीर्घकालिन सुधारलाई सम्बोधन गर्ने स्पष्ट संकेत गरेको छ। यो बजेटले निर्धारण गरेका प्राथमिकता र लक्ष्य उपयुक्त छन् भन्ने धारणा म यहाँ राख्न चाहन्छु। 

बजेटले उद्देश्यमा राखेको छ– उच्च, दीगो एवं फराकिलो आर्थिक बृद्धिदर हासिलगरी गरिबी निवारण गर्ने, उद्यमशीलता, विकास र सार्वजनिक तथा निजी लगानी विस्तार गरी रोजगारी सिर्जना गर्ने। 

प्राथमिकतामा बजेटले राखेको छ– उद्यमशीलता, रोजगारी, उत्पादन तथा उत्पादकत्व अभिवृद्धि, प्रतिफलयुक्त गुणस्तरीय भौतिक पूर्वाधारको रुपमा लगानी विस्तार, सामाजिक क्षेत्रमा गुणस्तरात्मक सुधार यी कुराहरु लक्ष्य र प्राथमिकताका रुपमा राखेको छ। यी लक्ष्यहरु हाम्रा देशका आकांक्षाहरु हुन् र यिनिहरुलाई प्राप्त गर्न त्यति सहज छैन। 

नेपालको राजनीतिमा गहिरो प्रभाव पार्ने दुई ठूला दल कांग्रेस र एमालेले निर्माण गरेको यो सरकार जो स्थिरता र विकासका निमित्त अग्रसर छ त्यो सरकारले ल्याएको बजेट यथार्थमा उभिएको हुनाले जनताका आकांक्षाहरुलाई परिपूर्ति गर्नका निमित्त समयवद्ध हिसावले, चरणबद्ध हिसावले अगाडि बढेको हुनाले बजेटको समर्थन गर्न चाहन्छु। 

बजेटले निर्धारण गरेको उद्देश्य र लक्ष्य निर्धारण त्यति सहज छैन। हाम्रो मुलुकको अर्थतन्त्रले भोगेको समस्याहरु यथावत छन् न्यून आर्थिक बृद्धिदर, उच्च बेरोजगारी, बाह्य घाटा यथावत छन्। राजस्व असुलीको समस्या यथावत छ। पूँजीगत खर्च गर्नेकुरा यथावत छ। यी कुराहरुलाई प्रतिबद्धतामात्र हैन कार्यान्वयन गरेर नदेखाउँदासम्म तबसम्म मुलुक र बजेटले हासिल गर्ने लक्ष्य हो त्यो लक्ष्य प्राप्त गर्न कठिनाइ हुन्छ।

त्यसैले अर्थमन्त्रीलाई ध्यानाकर्षण गराउँछु कि– अहिलेको बजेट कार्यान्वयनतर्फ अर्थमन्त्री र सरकारको ध्यान जानु जरुरी छ। बजेटलाई परिणाममुखी बनाउन बिनियोजन क्षमता, कार्यान्वयन क्षमता र जवाफदेहीता र नीतिगत हस्तक्षेपका निमित्त अर्थमन्त्रीले समयमै मूल्यांकन गरेर अगाडि बढ्नुपर्ने आवश्यकता छ। त्यसतर्फ अर्थमन्त्रीको गम्भीर ध्यान जाओस्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad