नेकपा (माओवादी केन्द्र)का सांसद शक्तिबहादुर बस्नेतले राजनीतिक दल र कार्यकर्तालाई पोस्ने गरी जथाभाबी बजेट विनियोजन भएको टिप्पणी गरेका छन्।
आज शुक्रबार बसेको प्रतिनिधिसभाको बैठकमा विनियोजन विधेयकमाथि बोल्दै उनले सबै मन्त्रालयहरूको बजेट विनियोजनको प्रकृति र अवस्थालाई हेर्दा आवधिक योजना र संवैधानिक व्यवस्थाहरूलाई आधार नबनाइएको भन्दै आपत्ति जनाएका हुन्।
उनले सरकारले राष्ट्रिय आवश्यकता अनुरूप निर्माणाधीन आयोजनाहरूलाई सम्पन्न गर्ने कुनै जिम्मेवारीवोध नगरी बजेट ल्याएको बताए।
'सबै मन्त्रालयहरूको विनियोजनको यो प्रकृति र अवस्थालाई हेर्दा खेरी न आवधिक योजनाहरूलाई आधार बनाइएको छ, न संवैधानिक व्यवस्थाहरूलाई आधार बनाइएको छ, न त राष्ट्रिय आवश्यकता अनुरूप निर्माणाधीन आयोजनाहरूलाई सम्पन्न गर्ने कुनै जिम्मेवारीवोध गरिएको छ,' उनले भने, ' यो सबै दृष्टिकोणले हेर्दा खेरी दललाई पोस्ने, कार्यकर्तालाई पोस्ने र आ–आफ्ना निर्वाचन क्षेत्रहरूलाई सुरक्षित गर्ने यो उद्देश्यद्वारा प्रेरित छ । वैकल्पिक सहायक राजमार्गको कुरा होस्, चाहे कोरिडोरको विषयमा, यी कुराहरूमा बजेटको जुन जथाभाबी विनियोजन भएको छ ।'
उनले बजेटको जथाभावी विनियोजन र सरकारको स्वेच्छाचारी व्यवहारको कारण विरोधस्वरुप विरोधको प्रस्ताव दर्ता गरेको समेत बताए।
Shares

प्रतिक्रिया