सत्तारुढ नेपाली कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले भिजिट भिसा प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन सुरु गरिसकेको भन्दै त्यहाँ केही गडबडी भएको भए संवैधानिक आयोगले नै छानबिन गर्ने बताएका छन्।
‘भिजिट भिसाका सन्दर्भमा अख्तियारले आफ्नो छानबिन प्रारम्भ गरिसकेकोछ, त्यहाँभित्र गडबडी भएको भए, अनियमितता भएको भए, भ्रष्टाचार भएको भए त्यो विषयमा अख्तियारले छानबिन गर्ने क्रम सुरु गरिसकेको छ,’ उनले भने, ‘अख्तियार एउटा संवैधानिक आयोग हो। उसले छानबिन गर्ला।’
यस विषयमा कसमाथि मुद्दा चलाउने भन्ने निर्णय पनि आयोगले नै गर्ने घिमिरेको भनाइ छ। ‘त्यो विषयमा देखिएका समस्या जनसमक्ष ल्याउला। मुद्दा अभियोजन गर्नुपर्ने भए मुद्दा अभियोजन गर्ला,’ उनले भने, ‘को–को सम्बन्धित व्यक्तिहरू छन्, को–को दोषी छन् त्यो त तथ्य प्रमाणसहित अख्तियारले ल्याउला नि।’
यस्ता विषयमा संवैधानिक आयोगलाई जिम्मेवारी दिनु नै उचित हुने घिमिरेको भनाइ छ। ‘संवैधानिक आयोगलाई नै जिम्मेवारी दिनु नै सबैभन्दा उपयुक्त कुरा हो,’ उनले भने, ‘संविधानले विश्वास गरेको, हामी सबैले विश्वास गरेको त्यो आयोगमाथि अविश्वास खडा गरेर अर्को आयोग, अर्को समिति बन्न सक्दैन्थ्यो।’
नीतिगत र कानुनी त्रुटिहरुको रहेको विषयमा सच्याएर जानलाई मात्रै समिति बनाइएको घिमिरेको भनाइ छ। ‘हो, हामीले स्वीकार गरेरको केही निगत, कानुनी त्रुटिहरू छन् भने तीनलाई सच्याएर जानुपर्छ भन्ने कुरा हामीले स्वीकार गरेका हौँ,’ घिमिरले भने, ‘त्यसलाई पूर्णरुपमा स्वीकार गर्नका निम्ति यो समिति गठन भएको छ।’
Shares

प्रतिक्रिया