नेपाली कांग्रेसका नेता उदय शमशेर राणाले बजेटको विषयमा पार्टीकै नेताहरूले सदनदेखि सडकसम्म आक्रोश पोखेको भन्दै आपत्ति जनाएका छन्। कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा मंगलबार धारणा राख्ने क्रममा उनले असन्तुष्टिहरू सदन र सडकमा पोख्नु पार्टीको हितमा नभएको बताए।
‘बजेटप्रति हाम्रा असन्तुष्टि छन् भने पनि यही बैठकमा राख्ने हो। तर यहाँ त सदनदेखि सडकमै आक्रोश पोख्ने काम भयो। त्यो राम्रो भएन,’ नेता राणाले भने, ‘यस्तो कार्यलाई पार्टीले रोक्नु पर्दछ। बजेट ल्याउँदा मन्त्रीले पार्टीसँग र पार्टीले मन्त्रीसँग समन्वय गर्नु पर्दछ। तर मन्त्रीमाथि व्यक्तिगत रूपमै आरोप लगाउने कुरा गलत छ।’
पूर्व अर्थ राज्यमन्त्री राणाले संघीय सरकारको बजेटमा राम्रा पक्षहरू भए पनि समग्रमा धेरै असन्तुष्ट भइहाल्ने पक्षमा आफू नरहेको पनि बताए। कांग्रेसले सम्हालेका मन्त्रालयको बजेटमाथि प्रश्न उठ्नुको कारणबारे उनले जवाफ मागे।
‘केन्द्रीय बजेटमा राम्रा पक्षहरू पनि छन्। कतिपय छुटेका पनि छन् तर समग्रमा धेरै असन्तुष्ट भइहाल्ने पक्षमा म छैन,’ राणाले भने, ‘तर दुर्भाग्य, हाम्रै पार्टीले सम्हालेका मन्त्रालयको बजेटमाथि प्रश्न उठेको छ। यसको कारण के हो ? कहाँ कमजोरी भयो ?’
केन्द्रीय सदस्य राणाले कांग्रेस सामाजिक सञ्जालमा निकै नै पछाडि रहेको पनि गुनासो गरे। जसका कारण गृहमन्त्री रमेश लेखक मुछिएको भिजिट भिसा प्रकरणमा देखिएको उनको भनाइ थियो।
‘सोसल मिडियाको समय छ। हामी यसमा निकै पछाडि छौँ। मैले पहिला दुईटा केन्द्र समितिको मिटिङमा पनि यो विषय उठाएको थिए,’ राणाले भने, ‘यसको असर भिजिट भिसा प्रकरणमै देखियो। कर्मचारीको गल्तीमा मन्त्रीलाई दोषी भन्ने न्यारेटिभ क्रिएट गरेको छ।’
सामाजिक सञ्जालमा अहिलेकै अवस्थामा रहे आगामी निर्वाचनमा समस्या देखिने उनको भनाइ थियो। ‘हाम्रो सोसल मिडिया, डिजिटल मिडिया क्याम्पेन जिरो छ र यही किसिमले हामी अगाडि जाने हो भने अर्को चुनावमा हामीलाई समस्या पर्छ,’ राणाले भने।
उनले भ्रातृ संगठनका नेतृत्वहरू र निर्देशन समितिमा रहेका नेताहरू मिलेर भ्रातृ संगनठहरूको अधिवेशन सम्पन्न गर्नुपर्नेमा पनि जोड दिए।
‘विशेष गरेर नेविसंघ, महिला संघ र तरुण दल पार्टीलाई अत्यन्तै आवश्यकता भएका संगठन हुन्। यी संगठनको अधिवेशन नभएका कारण यसको असर पार्टीलाई पनि पर्छ चुनावमा,’ राणाले भने, ‘अरूलाई दोष लाउनुभन्दा पनि हामीहरू सबै मिलेर भ्रातृ संगठनका नेतृत्वहरू र निर्देशन समितिका साथीहरू मिलेर अधिवेशन गर्न जरुरी छ।’
Shares

प्रतिक्रिया