राजनीति


निजामती विधेयकमा छेडखानी जालसाजीपूर्ण कार्य, संसद्को अपमान : माओवादी केन्द्र

निजामती विधेयकमा छेडखानी जालसाजीपूर्ण कार्य, संसद्को अपमान : माओवादी केन्द्र

फाइल तस्बिर


नेपालखबर
असार १८, २०८२ बुधबार १४:३१, काठमाडौँ

प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र) ले संघीय निजामती सेवा विधेयक पारित गर्ने क्रममा ‘जालसाजी’ भएकाे भन्दै गम्भीर आपत्ति जनाएको छ। 

बुधबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित पत्रकार सम्मेलनमा उपाध्यक्ष तथा पार्टी प्रवक्ता अग्निप्रसाद सापकोटाले समितिमा भएको सहमति विपरीत विधेयक संसदमा पेस गरिएकामा आपत्ति जनाउँदै उक्त घटनाले संसद्, संसदीय समिति र सांसदहरूको नैतिकता, निष्ठा र योग्यता माथि प्रश्न उठाएको बताए।

उनका अनुसार प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिमा विधेयकको ‘कुलिङ पिरियड’ सम्बन्धी प्रावधानमा सहमति भएको भए पनि त्यसलाई परिवर्तन गरी संसदमा पेस गरिनु गम्भीर राजनीतिक, संवैधानिक र नैतिक अपराध हो। ‘संसदको आत्मामाथि सीधा प्रहार भएको छ,’ सापकोटाले भने, ‘यो सुनियोजित धृष्टता हो, जसको जिम्मेवारी संसदको नेतृत्वले नै लिनुपर्छ।’ उनले दोषीमाथि यथाशक्य चाँडो छानबिन गरी कारबाही गर्न माग गरे।

त्यस्तै, नेपाल शिक्षक महासंघसँग विद्यालय शिक्षा विधेयक असार १५ भित्र पारित गर्ने सहमति भए पनि सरकारले अझै विधेयक पारित नगर्नु दुःखद रहेको उनको भनाइ थियो। सहमतिप्रति सरकारले गम्भीरता नदेखाएको भन्दै उनले शिक्षकलाई पुनः आन्दोलनमा जान बाध्य नपार्न आग्रह गरे।

सापकोटाले विपद् व्यवस्थापनको सन्दर्भमा पार्टीले केन्द्रदेखि स्थानीय तहसम्मको संयन्त्र सक्रिय बनाउन निर्देशन दिइसकेको जानकारी गराउँदै मनसुनको समयमा पूर्वतयारी गर्न सरकारलाई आग्रह गरे। उनले भने, ‘अतिवृष्टिका कारण हुन सक्ने जनधनको क्षति न्यूनीकरणका लागि सरकार तत्पर हुनुपर्छ।’

सापकोटाले कृषि क्षेत्रमा मल र विउँको अभावका कारण किसान मर्कामा परेको उल्लेख गर्दै सापकोटाले सरकारलाई गम्भीर ढंगले समस्या समाधान गर्न र किसानलाई आवश्यक स्रोतसाधन तत्काल उपलब्ध गराउन आग्रह गरे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad