पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले राज्यबाट पाएको सेवा सुविधा फिर्ता गर्ने व्यहोराको पत्र गृह मन्त्रालयमा पुगेको छ।
उनले सुरक्षाबाहेकका सबै सुविधा फिर्ता गर्ने भन्दै पठाएकाे पत्र गृह मन्त्रालयमा आज बुधबार दर्ता भएको हो।
पूर्वराष्ट्रपति भण्डारीले आफ्नो सचिवालयमा सरकारले उपलब्ध गराएका एक उपसचिव, एक शाखा अधिकृत, एक जना कार्यालय सहायक पनि फिर्ता गर्न गृहलाई पत्र लेखेको भण्डारीनिकट स्रोतले नेपालखबरलाई जानकारी दिएको छ।
'आजैका मितिदेखि लागू हुने गरी सुरक्षाबाहेकका सुविधा फिर्ता लिने भन्ने व्यहोराको पत्र गृहमा दर्ता गरिएको छ,' स्रोतले भन्यो।
पत्र पूर्वराष्ट्रपति भण्डारीका स्वकीय सचिव राजकुमार राईले लेखेका हुन्।
'पूर्वराष्ट्रपतिले आफ्नो कार्यकाल पूरा गरी सेवा निवृत्त हुनु भएपछि पूर्व राष्ट्र प्रमुखको हैसियतमा नेपाल सरकारले उपलब्ध गराउने सेवा सुविधामध्ये सुरक्षाबाहेक आजैका मितिदेखि लागू हुने गरी कुनै पनि सेवा सुविधा नलिने निर्देशन मुताविक यो निवेदन पेस गरेको छु। यसको कार्यन्वयन गरी सहयोग गरिदिनुहुन अनुरोध छ' राईले लेखेको पत्रमा उल्लेख छ।
Shares

प्रतिक्रिया