राजनीति


भ्रष्टाचारीले कांग्रेस भएकै कारणले उन्मुक्ति पाउनु हुँदैन: गगन थापा

असोजमा बस्ने बैठकले १५ औँ महाधिवेशनको मिति तोक्ने दाबी
भ्रष्टाचारीले कांग्रेस भएकै कारणले उन्मुक्ति पाउनु हुँदैन: गगन थापा

नेपालखबर
असार २३, २०८२ सोमबार १८:४३, काठमाडौँ

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीको नेता कार्यकर्ता जो भए पनि भ्रष्टाचारी भए कारबाही भोग्नै पर्ने बताएका छन्। पार्टी कार्यालयमा केन्द्रीय कार्यसमिति बैठकमा बोल्दै थापाले कानुनी शासनमा दोषीले उन्मुक्ति पाउन नहुने बताएका हुन्।   

'कानुनी शासनमा विश्वास गर्ने हामीहरूले कोही निर्दोष पर्न हुँदैन, दोषी कोही पनि छुट्नुहुँदैन भन्नुपर्‍यो,' उनले भने, 'दोषी छ भने पनि कांग्रेस भएकै कारणले उसले उन्मुक्ति पाउनु हुँदैन।'

आइतबारको बैठकमा गोपालमान श्रेष्ठले एमाले र माओवादीले भ्रष्टाचारका मुद्दामा जोडिएका आफ्ना नेतालाई जोगाएको र कांग्रेसले जोगाउन नसकेको भन्दै टिप्पणी गरेका थिए। त्यस्तै भ्रष्टाचार मुद्दामा धरौटीमा रिहा भएका केन्द्रीय सदस्य मोहनबहादुर बस्नेतले त थापाकै कारण आफूलाई अख्तियारले मुद्दा दायर गरेको आरोप लगाएका थिए। थापाले आज उनीहरूको अभिव्यक्तिबारे जवाफ दिएका हुन्।  

त्यस्तै थापाले आगामी असोजमा बस्ने केन्द्रीय समिति बैठकले पार्टीको १५औं महाधिवेशनको मिति तोक्ने बताए। उनले क्रियाशील नवीकरणको विषयमा मेहनत गर्नुपर्ने बताए। यसअघि सदस्यता लिएकामध्ये ८० प्रतिशतले नवीकरण गर्ने सम्भावना रहेको उनको भनाइ छ। उनले नवीकरणको काम सकेपछि मात्रै नयाँ सदस्यता वितरणको काम सुरु हुने जानकारी गराए।  

'दसैंअघि असोजमा केन्द्रीय समिति बैठक गरेर महाधिवेशन तिथिमिति तय गर्ने हो,' उनले भने, 'महाधिवेशनका लागि तयारी भइरहेको छ। तयारी केही भएको छैन भनेर कसैले पनि बाहिर नभनौँ।'

उनले ०८३ मंसिरभित्रै महाधिवेशन हुने दाबी गर्दै भने, 'त्यसपछि स्थानीय चुनावदेखि आम चुनाव गर्न तयारीका लागि पनि समय हुन्छ।'

थापाले अन्तमा नेताहरूले सबैले नवीकरण र नयाँ सदस्यता वितरणका लागि मेहनत गर्नुपर्ने पनि दोहोर्‍याए। 

 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad