तेह्रथुम सरोकार समाजले नेपाल प्रहरीको नवनियुक्त अतिरिक्त महानिरीक्षक (एआईजी) चन्द्रकुबेर खापुङलाई अभिनन्दन गरेको छ।
काठमाडौँको घट्टेकुलोमा रहेको समुदायिक सेवा केन्द्रमा शनिबार आयोजित कार्यक्रममा समाजले खापुङलाई दोसल्ला र सम्मान पत्र प्रदान गरेको थियो।
कार्यक्रममा बोल्दै एआईजी खापुङले समाज नकारात्मकतामा फसेको बताउँदै समाजको विकासका लागि सकारात्मक सोच आवश्यक बताएका थिए।
'समाज नकारात्मकतामा फसेको छ। यो भन्नु गलत हो कि देशमा अहिलेसम्म कुनै विकास भएको छैन,' उनले भने, 'विकास भएको छ, तर विकसित देशहरूजति चाँडो भने होइन।' उनले समाज र देशप्रति सकारात्मक सोच विकास गर्न आग्रह गरे।
'३० वर्षअघिको देश र अहिलेको देश एउटै होइन। परिवर्तन भएको छ, तर ढिलो गतिमा। विशेष गरी २०६० पछि जन्मेका युवा पुस्ताले देशको विकास र नेतृत्वप्रति संशय राख्छन्,' उनले भने, 'हामीले उनीहरूलाई सम्झाउनुपर्छ र केही भएन भन्ने नकारात्मक भाष्यलाई चिरेर अगाडि बढ्नुपर्छ।'

उनले तेह्रथुमवासीहरूले आपसी फाइदा, विकास र समृद्धिका लागि हातेमालो गरेर अगाडि बढ्नुपर्ने बताए। यसैगरी, सरोकार समाजका प्रमुख सल्लाहकार तथा स्वतन्त्र विद्युत उत्पादक संघका वरिष्ठ उपाध्यक्ष मोहनकुमार डाँगीले नेपालले राजनीतिक उपलब्धिहरू हासिल गरेको बताउँदै अब आर्थिक प्रगतिको बेला भएको बताए।
'हामीले अब नेपालीहरूलाई पैसा कमाउने सीप सिकाउनुपर्छ। यो हाम्रो देश र हामी आफैँलाई समृद्ध बनाउने समय हो। यो जलविद्युत विकासबाट नै सम्भव छ,' उनले भने। उनले खापुङलाई बधाई पनि दिए।
समाजले आयोजना गरेको विस्तारित पूर्ण बैठक सञ्चालन समाजका महासचिव योगेन्द्र कुरुम्बाङले गरे। त्यस्तै, उपाध्यक्ष चिरञ्जीवी खतिवडा र केशव भट्टराईले खापुङको पारिवारिक पृष्ठभूमिको बारेमा प्रकाश पार्दै उनको एआईजी पदमा पदोन्नति भएकोमा बधाई दिए।
समाजका अध्यक्ष डिल्लीराम ढुंगेलले बधाई दिँदै भने, 'उनी छवि सफा भएका एक पेसेवर, समर्पित र इमान्दार प्रहरी प्रशाक हुन्। म उनलाई एआईजी पदमा पदोन्नतिको लागि फेरि बधाई तथा र उत्तरोत्तर प्रगतिको कामना गर्दछु।'
Shares

प्रतिक्रिया