नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले कांग्रेसको अस्तित्व र भूमिकालाई कमजोर पार्ने प्रयास भइरहेको भन्दै पार्टी कार्यकर्ताहरुलाई दृढका साथ अघि बढ्न आग्रह गरेका छन्।
शुक्रबार पार्टी केन्द्रीय कार्यालय सानेपामा पार्टीनिकट लोकतन्त्रवादी आदिवासी जनजाति महासंघको स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै महामन्त्री थापाले यस्तो आग्रह गरेका हुन्।
पछिल्लो समय कांग्रेसको बारेमा पार्टीले भन्दा पहिले अरुले टिप्पणी गर्ने गरेको भन्दै पार्टीको महत्व र आवश्यकताबारे आफैंले भन्नुपर्ने उनको भनाइ छ। महामन्त्री थापाले आदिवासी जनजाति समुदायले प्राप्त गरेका अधिकार र पहिचानको रक्षा गर्ने प्रमुख शक्ति नै नेपाली कांग्रेस रहेको दाबी गरे।
उनले आदिवासी जनजातिको मुद्दामा कांग्रेस बाहेक अरु कुनैपनि पार्टी इमादार नरहेको उनको टिप्पणी छ।
उनले भने, ‘अहिले हाम्रो सबैभन्दा ठूलो समस्या के भएको छ भने अहिले नेपाली कांग्रेसको बारेमा हामीभन्दा अरुले भनिदिएको छ। हामी को हौँ भन्नेबारेमा हामीले भन्नै पाएका छैनौँ। हामीभन्दा पहिले अरुले गएर भनिदिन्छ। यी पुराना हुन्, थोत्रा हुन् भनेर भनिदिने भए। अब हाम्रो बारेमा कसले भन्ने? हामी आफैंले भन्ने हो। हामी नभएको भए के हुन्थ्यो? र हामी नभयौं भने के हुन्छ अब? यी कुराहरु महासंघले भनिदिनुपर्नेछ। नेपालको जनजाति र आदिवासीले प्राप्त गरेको अधिकार आजको दिनमा कांग्रेसले अलिकति खुट्टा डगमगाउने हो भने यो अधिकार सबै स्वहा भएर जान्छ।’
महामन्त्री थापाले आउँदो असोजसम्म पार्टी सदस्यता नवीकरण गरिसक्ने समेत बताए। आउँदो मसिंरदेखि नयाँ सदस्यता वितरण गर्नेगरी काम भइरहेको उनको भनाइ छ।
Shares

प्रतिक्रिया