राजनीति


वरिष्ठ उपाध्यक्ष बपौती पद हो र? आउने महाधिवेशन नभई जाँदैन: ईश्वर पोखरेल

विद्या भण्डारीलाई रोक्नु हुँदैन भन्ने अडान कायम छ, नोट अफ डिसेन्ट लेखेँ कि लेखिनँ भन्ने कुरा महत्त्वपूर्ण होइन’
वरिष्ठ उपाध्यक्ष बपौती पद हो र? आउने महाधिवेशन नभई जाँदैन: ईश्वर पोखरेल

फाइल तस्बिर : एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल


नेपालखबर
साउन १२, २०८२ सोमबार १०:५९, काठमाडौँ

नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले आफ्नो पद पार्टीको आउने महाधिवेशनले निर्णय अनुमोदन नगर्दासम्म नजाने बताएका छन्। 

पत्रकार टीकाराम यात्रीसँगको अन्तर्वार्तामा उनले उक्त पद बपौती नभएको टिप्पणी पनि गरेका छन्।

‘...यो वरिष्ठ उपाध्यक्ष दसौँ राष्ट्रिय महाधिवेशनमा सिर्जना गरिएको पद हो। र, त्यो आउने राष्ट्रिय महाधिवेशन नभईकन त्यो पद जाँदैन’, पोखरेलले भनेका छन्, ‘वरिष्ठ उपाध्यक्ष भन्ने पदचाहिँ आउने महाधिवेशनबाट बिदा, पारित गरिरहँदा त्यो चिज राख्नु हुँदैन र राष्ट्रिय महाधिवेशनले त्यसलाई फाइन्नली अनुमोदन गर्छ। त्यो एउटा कन्सेप्ट हो। अर्काे एउटा अन्तरंग कुरा भन्ने हो भने त्यो कुनै पद, कुनै एउटा व्यक्ति विशेषको अलिकति खरो, कस्तो सुनिएला, त्यो बपौती पद हो र? त्यो त होइन नि! म हिजो जिम्मेवारीमा रहेँ, भोलि अर्काे कोही रहला या नरहला। भनेपछि त्यसरी ठान्नु, बुझ्नु पनि उचित हुँदैन।’

अन्तर्वार्तामा वरिष्ठ उपाध्यक्ष पोखरेलले पूर्वराष्ट्रपति विद्या भण्डारीलाई पार्टी राजनीतिमा रोक लगाउने एमाले केन्द्रीय कमिटीको निर्णयविरुद्ध नोट अफ डिसेन्टमा हस्ताक्षर नगरे पनि उनलाई रोक्न हुँदैन भन्ने आफ्नो अडान यथावत् रहेको पनि बताएका छन्। 

‘उहाँ पार्टीमै जन्मी, हुर्की अगाडि बढेको मान्छे, पार्टीले आवश्यक ठानेर जिम्मेवारी दियो। त्यो जिम्मेवारी योग्यतापूर्वक पूरा गरेर आएपछि म फेरि पार्टीमा जोडिन्छु भनेर भन्न पाउने कुरा स्वाभाविक हो र यो एउटा नागरिकको अधिकार मात्रे होइन’, एउटा विवेकपूर्ण कुरा पनि हो उनले भनेका छन्, ‘नोट अफ डिसेन्ट राख्ने बेला परिस्थिति के थियो, कस्तो थियो, ती तपसिलका कुरा हुन्। इन्साइड स्टोरीमा तपाईं किन जाने? मेरो अडानमा म कायम छु। त्यो अडान के हो भने पार्टीबाट विशेष जिम्मेवारी लिएर गएको व्यक्ति फेरि त्यो जिम्मेवारी पूरा गरिसकेपछि म पार्टीमा संलग्न हुन्छु, पार्टीको विधिवत् सदस्य भएर अगाडि बढ्न चाहन्छु भन्छ भने त्यो पाउनुर्छ भन्ने मेरो मान्यता हो। त्यो मान्यता हिजो जे थियो, त्यो अहिले पनि कायमै छ भनेपछि मैले त्यहाँनिर तत्काल नोट अफ डिसेन्ट लेखेँ कि लेखिनँ भन्ने कुरा के के प्राविधिक कुरा परे, त्यो अलग कुरा हो। तर लेखेँ कि लेखिनँ भन्ने कुरा त्यति महत्त्वपूर्ण होइन।’

तपाईंले विद्या भण्डारीजीलाई राजनीतिमा प्रवेश गर्न रोक्नु हुँदैन भनेर भनिसकेपछि अहिलेको होइन कि आगामी महाधिवेशनबाट वरिष्ठ उपाध्यक्षको पदै खारेज भयो, त्यो भनेको झन्डै झन्डै तपाईंप्रति लक्षित हो भनेर बुझिन्छ। त्यसैले वा तपाईंले केपी ओलीसँग त्यो पद कायम गर्ने प्रयोजनबाट मिल्नु भो कि हस्ताक्षर नगरेर? 

-एउटा कुरा, के बुझ्नु भने यो वरिष्ठ उपाध्यक्ष दसौँ राष्ट्रिय महाधिवेशनमा सिर्जना गरिएको पद हो। र, त्यो आउने राष्ट्रिय महाधिवेशन नभईकन त्यो पद जाँदैन।

गइसक्यो त?

-यही त बुझाइमा समस्या छ। त्यो हामी छलफलका क्रममा वरिष्ठ उपाध्यक्ष भन्ने पदचाहिँ आउने महाधिवेशनबाट बिदा, पारित गरिरहँदा त्यो चिज राख्नु हुँदैन र राष्ट्रिय महाधिवेशनले त्यसलाई फाइन्नली अनुमोदन गर्छ। त्यो एउटा कन्सेप्ट हो। अर्काे एउटा अन्तरंग कुरा भन्ने हो भने त्यो कुनै पद, कुनै एउटा व्यक्ति विशेषको अलिकति खरो, कस्तो सुनिएला, त्यो बपौती पद हो र? त्यो त होइन नि? म हिजो जिम्मेवारीमा रहेँ, भोलि अर्काे कोही रहला। या नरहला। भनेपछि त्यसरी ठान्नु, बुझ्नु पनि उचित हुँदैन। म भोलि ७० वर्षको कुरा लिएर रहुँला न रहुँला आफ्नो ठाउँमा छ।  

हालै सम्पन्न एमालेको केन्द्रीय कमिटी बैठकले राष्ट्रपति भइसकेको मान्छे पार्टीमा फर्किन नमिल्ने र सदस्यता नवीकरण नगर्ने निर्णय गरेको छ।

जसमा असहमति जनाउँदै उपाध्यक्षद्वय युवराज ज्ञवाली र सुरेन्द्र पाण्डे तथा स्थायी कमिटी सदस्य कर्ण थापाले ‘नोट अफ डिसेन्ट’ लेखे पनि वरिष्ठ उपाध्यक्ष पोखरेलले भने लेखेनन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad