राजनीति


राजेन्द्र लिङ्देनलाई धवलशम्शेरको पत्र: गल्ती सच्याउनुस्

राजेन्द्र लिङ्देनलाई धवलशम्शेरको पत्र: गल्ती सच्याउनुस्

नेपालखबर
साउन १८, २०८२ आइतबार १५:५९, काठमाडौँ

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का महामन्त्री धवलशम्शेर राणाले अध्यक्ष राजेन्द्र लिङ्देनलाई गल्ती सच्याउन आग्रह गरेका छन्। राणाले आज आइतबार पत्र पठाउँदै विधान मिचेर स्वेच्छाचारी ढंगले अघि बढ्ने गल्ती सच्याउन भनेका हुन्।   

‘पार्टी एकता र पार्टी हित विपरीत विधान मिचेर स्वेच्छाचारी रूपमा पार्टी नेताहरूलाई कारबाही र निष्कासन गरिनु दु:खद र निन्दनीय छ,' उनले भनेका छन्, 'पार्टी विधानको व्यवस्था एवं प्रजातान्त्रिक मान्यताको पालना गर्दै ती गल्ती अनिवार्य सच्याउनु पर्दछ।’ 
 
यस्तो छ राणा पत्र

श्री अध्यक्षज्यू,
राष्ट्रिय प्रजातन्त्र पार्टी

केन्द्रीय कार्यालय, काठमाडौं।

केन्द्रीय कार्यसम्पादन समितिको निर्णयबमोजिम समयमै महाधिवेशन सम्पन्न गर्ने परिवेशमा स्थानीय तहमा अधिवेशनको क्रम जारी छ। केन्द्रीय महाधिवेशन समयमै पूरा गर्ने हामी सबैको जिम्मेवारी छ। यही सन्दर्भमा जिल्ला अधिवेशनको समयसीमा तोकिएको अवस्थामा स्थानीय तहको कुनै पनि पदमा मनोनयन नगर्न केन्द्रीय निर्वाचन समितिले ७७ जिल्लामा परिपत्र जारी गरेको विदितै छ।

यही क्रमबीच पार्टी एकता र पार्टी हित विपरित विधान मिचेर स्वेच्छाचारी रूपमा पार्टी नेताहरुलाई कारवाही र निष्कासन गरिनु दु:खद र निन्दनीय छ । पार्टी विधानको व्यवस्था एवं प्रजातान्त्रिक मान्यताको पालना गर्दै ती गल्ती अनिवार्य सच्याउनु पर्दछ।

फरक मत, विचार एवं अभिव्यक्ति स्वतन्त्रता लगायतका वैयक्तिक स्वतन्त्रता नागरिकको संविधानप्रदत्त मौलिक हक हुन्। सहमति, असहमतिका विषयमा संवाद एवं शान्तिपूर्ण निकासको खोजी हुनु युग सुहाउँदो विधि र अभ्यास हो। पार्टीको तर्फबाट प्रदेससभा उम्मेद्वार भएका, पत्रकार एवं युवा नेता राजु गैरेलाई पार्टी अध्यक्षका स्वकीय सचिव छत्र खडायतले भौतिक आक्रमण गर्नु दु:खद र निन्दनीय छ। पार्टी सदस्यमाथि जिम्मेवार तहबाटै आक्रमण भएको घटनाप्रति देशभरीका पार्टीका साथीहरु, शुभचिन्तकहरू चिन्तित छन्।

जिल्ला तहको अधिवेशनका लागि केन्द्रीय पर्यवेक्षकहरू खटाउने र नामावली सल्लाह बमोजिम तय गर्ने सैद्धान्तिक सहमति भएकोमा पार्टीमा यो निर्णय लागू गर्न कार्यसम्पादन समितिमा कुनै छलफल र सल्लाह नगरी एकलौटी किसीमले नामहरू तोकिएको छ, जो हाल भइरहेको ज्यादतीको पछिल्लो उदाहरण हो।

अधिवेशनका लागि पर्यवेक्षण गर्न पठाउने प्रतिनिधिहरू सर्वसम्मत रुपमा समझदारी गरेर पठाउनु पर्ने हो तर, यो अवधारणालाई उपेक्षा गरि एकलौटी ढंगले तोकेर पठाउनु गलत र अमान्य छ। प्रजातन्त्रको आधारभूत मान्यताविपरीत केन्द्रीय निर्वाचन समितिका सदस्यहरु समेत समावेश गरेर तयार गरिएको पर्यवेक्षकको एकतर्फी सूची त्रुटिपूर्ण छ, यो व्यक्ति विशेषसँग सम्बन्धित नभएर प्रक्रियागत त्रुटी सच्याउने विषय हो।

निष्पक्ष, मर्यादित र सबैको सहभागितामा महाधिवेशन हुनुपर्दछ भन्ने विषयमा हामी विश्वास राख्दछौं तर पछिल्लो निर्णयहरूबाट देशभरिका पार्टीका कार्यकर्ताहरु चिन्तित र सशंकित छन्। यी तमाम समस्या समाधानको निमित्त अविलम्ब कार्यसम्पादन समितिको वैठक बोलाउनसमेत अनुरोध गर्दछौं।

- धवलशम्शेर राणा, महामन्त्री

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad