नेकपा (माओवादी केन्द्र)को स्थायी कमिटी बैठकमा नेताहरूले गुट भंग गरेर थप एकताबद्ध भइ अघि बढ्नुपर्ने धारणा राखेका छन्। आइतबार पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडामा बसेको बैठकमा अधिकांश नेताहरूले गुट बन्द गर्नुपर्ने र स्वार्थ समूहहरू विघटन गर्नुपर्ने आवश्यकता रहेको बताएको पनि पार्टीका प्रवक्ता अग्नि सापकोटाले बताए।
उनले व्यक्तिवादी अराजकता, अनुशासनहिनता पार्टीमा बढेर गएको र त्यसलाई नियन्त्रण गर्नुपर्ने धारणा राखेको जानकारी दिए। सांस्कृतिक क्रान्ति चलाउन सदस्यहरूले माग गरेको बताए।
भ्रष्टाचारविरुद्ध, सुशासन कायम गर्न आवश्यक रहेको सदस्यहरूले व्यवस्थित ढंगले अघि बढ्नुपर्ने धारणा राखेका छन्। अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'को नेतृत्वलाई अझ सबल, सुदृढ र व्यवस्थित गर्नुपर्ने अधिकांश नेताहरूले आफ्ना धारणा राखेका थिए।
अध्यक्षले आत्मालोचना गर्नुपर्ने विषय उठाएका पार्टीका उपमहासचिव जनार्दन शर्माले एकाध व्यक्तिले बोलेका कुराको कुनै अर्थ नरहेको पनि प्रवक्ता सापकोटाले स्पष्ट पारे।
'धेरैले भनेको कुरा के हो भने गुट भंग गर्नुपर्छ, स्वार्थ समूहहरू विघटन गर्नुपर्छ। अनि मात्रै पार्टी एकता हाँसिल गर्न सकिन्छ,' उनले भने, 'व्यक्तिवादी अराजकता, अनुशासनहिनता जुन बढेर गएको छ, त्यसलाई अब नियन्त्रण गर्नुपर्छ। शुद्धीकरण, रूपान्तरणका कुरा अलि बढी आएका छन्।' आइतबार १९ स्थायी कमिटी सदस्यले आफ्ना धारणा राखेको प्रवक्ता सापकोटाले जानकारी दिए।
Shares

प्रतिक्रिया