नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाली कांग्रेसभन्दा नेकपा एमाले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) ठूलो पक्षधर भएको आरोप लगाएका छन्।
बुधबार केन्द्रीय कार्यालय पेरिसडाँडामा माओवादी सचिव लीलामणि पोख्रेलद्वारा लिखित 'नेपालमा एमसीसी' पुस्तकको बिमोचन कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले एमसीसीलाई जस्ताको त्यस्तै पारित गर्नुपर्छ भनेर कांग्रेसले भन्दा एमालेले बढी जोड दिएको दाबी गरेका हुन्।
विगतमा संसद्बाट एमसीसी पारित गर्दाको प्रसंग चर्चा गर्दै प्रचण्डले एमसीसीलाई जस्ताको त्यस्तै पारित गर्नुपर्छ भन्नेमा कांग्रेस सभापति शेरबहादुर देउवाभन्दा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जोड दिएको बताए।
उतिबेला एमसीसी जस्ताको त्यस्तै पास गर्न दिनु हुँदैन भनेर आफूले कांग्रेस एमालेका शीर्ष नेतासँग कुरा गर्दा कांग्रेस भन्दा एमाले एमसीसी पक्षधर रहेको आफूले पाएको प्रचण्डले बताए।
उनले एमसीसी जस्ताको त्यस्तै पास हुन नदिनका लागि कांग्रेस र एमालेसँग बारम्बार छलफल गर्दा पनि सहमति नजुटेपछि मन नलागी नलागी एमाले नेतृत्वसँग छलफलका लागि आफूहरू गएको तर एमालेले अपमानजनक भाषा प्रयोग गरेको आरोपसमेत लगाए।
अध्यक्ष दाहालले भने, ‘जसरी पनि एमसीसी पारित हुने भयो। हामीले रोक्नसक्ने स्थिति भएन। कांग्रेस दृढ अडानमा छ। एमाले र कांग्रेस मिलेपछि भइहाल्छ। एमाले नेतृत्वबाट सँगै समझदारी गरेको, कार्यदल बनाएकोबाट आश गरेको त झन् कडा। कांग्रेस भन्दा त केपी ओली त झन् कडा। हाम्रा केही साथीहरू त जाउँ भयो, झगडा गर्दागर्दै पनि यही विषयको गम्भीरता र महत्वलाई ध्यान दिएर देशको लागि जाने हो के लाज मान्ने हो र? देशको भलो हुन्छ भने जोसँग भएपनि वार्ता गर्न के हुन्छ भनेर अफ्ठ्यारो मानि मानि गएका थियौँ। तर यति नमिठो, यति तीतो र यति अपमानजनक भाषा उहाँ (ओली)ले प्रयोग गर्नुभयो, कांग्रेस भन्दा त धेरै बढी रहेछ।'
एमाले नेपाललाई आईपीएसको सदस्य बनाउने पहल गर्ने र एसपीपीमा सैद्धान्तिक सहमति गर्ने पार्टी भएको आरोपसमेत प्रचण्डले लगाए।
‘आईपीएसको सदस्य बनाउने पनि उहाँहरू नै हो। एसपीपीसँग सैद्धान्तिक सहमति गर्ने पनि उहाँहरू नै हो। त्यसपछि अन्तिममा यसलाई बहिष्कार गर्ने, भोटिङमा भाग नलिने बाटो थियो। तर अनुमोदन त भइसक्थ्यो। त्यसलाई रोक्न र क्रान्ति नै सुरु गर्नसक्ने स्थिति थिएन,’ प्रचण्डले भने।
अध्यक्ष प्रचण्डले आफूहरुको बारम्बारको प्रयासपछि मात्रै संसद्बाट व्याख्यात्मक टिप्प्णीसहित एमसीसी पास गरिएको तर्क गर।
Shares

प्रतिक्रिया