राजनीति


यस्तो छ मानव अधिकारकर्मीले देखेको रवि बसेको कारागार

'शौचालय यस्तो छ कि के भन्ने?'
यस्तो छ मानव अधिकारकर्मीले देखेको रवि बसेको कारागार

मानव अधिकार आयोगकी आयुक्त लिली थापा


नेपालखबर
साउन २६, २०८२ सोमबार १३:३६, काठमाडौँ

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने सहकारी ठगी प्रकरण रुपन्देहीस्थित भैरहवा कारागारमा छन्। कारागारमा रहँदा उनको मौलिक अधिकारसमेत हनन् भएको भन्नेबारे सार्वजनिक सञ्चारमाध्यममा समाचारहरू प्रकाशन भए। समाचारहरू सार्वजनिक भएपछि राष्ट्रिय मानव अधिकार आयोगको टोलीले आज (सोमबार) स्थलगत अनुगमन गरेको छ। 

आयोगकी आयुक्त लिली थापासहितको टोलीले भैरहवा कारागारमा निरीक्षण गरेको हो। निरीक्षणपछि सञ्चारकर्मीसँग कुरा गर्दै थापाले पत्रपत्रिका पढ्न नपाएको, रवि लामिछाने बसेको कोठाको झ्याल पूर्णरुपमा बन्द गरिएको जानकारी गराइन्। 

'कैदीबन्दी राखेपछि उसको सुरक्षाको जिम्मा सरकारले लिनुपर्छ। हावा नजाने कोठामा राखेर हुँदैन। सुरक्षाका कारण बन्द गरिएको भनिएको छ। कैदीबन्दीको जिम्मा सरकारले राख्नुपर्छ। त्यो नभएको पायौँ,' रविलाई भेटेर फर्किएकी थापाले भनिन्, 'उहाँले आफ्नो अधिकार पाउनु भएको छ छैन भन्ने चासो लिएर निरीक्षण गरियो। बाहिर आएर स्वच्छ हावा लिन पाउने, पत्रपत्रिका पढ्न पाउने कुरा छ त्यसमा मानव अधिकार आयोगको ध्यानाकर्षण भएको छ। मेन कुरा भनेको १०० बढी कोठाबाहिर हिँडडुल गर्न पाउनु भएको छैन भन्ने आयो।'

उनले लामिछानेले स्थानान्तरण पाउँ भनेर माग गरेको र अदालतले पनि अनुमति दिएको विषयमा स्थानान्तरण नभएकोबारे ध्यानाकर्षण भएको बताइन्। 

'बन्दीले स्थानान्तरण पाउँ भन्ने माग नगर्नु र नसक्नुको गम्भीर ध्यानाकर्षण भएको छ। कारागार व्यवस्था विभागसँग आयोगस्तरमै कुरा गर्छौँ,' उनले थपिन्, 'उहाँका आफन्तसँग भेट गर्न नदिएको। भेट गर्न सुरक्षा चुनौती भएको कुरा आयो। बन्दी राखेपछि सुरक्षाको जिम्मा सरकारले लिनुपर्छ नि।  झ्याल खोल्नुपर्ने। बाहिर हिँडडुल गर्न पाउनुपर्ने। अदालतको अनुमतिअनुसारको स्थानान्तरण हुनुपर्ने किन भनएको? यसमा हाम्रो चासो भयो।'

कारागार प्रमुखले लामिछाने बसेको कोठाको बन्द झ्याल खोलिदिने बताएको उनको भनाइ छ।  'बन्दी राखेको झ्याल हावाका लागि कारागारका प्रमुखले खोलिदिन्छु भन्नु भएको छ,' शौचालय कस्तो रहेछ भन्ने पत्रकारको प्रश्नमा उनले थपिन्, 'शौचालयको यस्तो छ कि के भन्ने? नेपाल सरकारकै कमजोरी हो । कुन मन्त्रालयअन्तर्गत पर्छ त्यो मन्त्रालयको कमजोरी होइन र?'

थापाले यो सबै कमजोरी हुनुमा सरकार दोषी भएको बताउँदै पर्याप्त संरचना नहुनु, कारागार व्यवस्था विभागले बनाएको नियम पालना नभएको बताइन्।

त्यस्तै रवि लामिछानेलाई राखिएको कोठामा कुलर छ कि छैन भन्ने प्रश्नमा उनले भनिन्, 'कुलर छैन पंखा छ दुई वटा।' 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad