राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोविता गौतमले कैदीबन्दीलाई राज्यले थुनेर राखेर वार्षिक २ अर्ब रुपैयाँभन्दा बढी खर्च गर्ने गरेको बताएकी छन्। बुधबार बसेको कानुन न्याय तथा मानवअधिकार समितको बैठकमा उनले यस्तो बताएकी हुन्।
सरकारी तथ्याङ्ककै आधारमा हिसाब गर्दा कैदीबन्दीका व्यक्तिगत खाना, स्वास्थ्य, न्याय लगायतका कुराहरु २ अर्ब २७ करोड ४४ लाख ८ हजार १ सय ६४ रुपैयाँ वार्षिक हुने गरेको उनको भनाइ छ।
‘मैले सरकारले नै दिएको तथ्याङ्कलाई यसो हिसाब गरेर हेर्दा खेरि यहाँ के लेखिएको छ भने गतवर्ष भएको वास्तविक खर्चका आधारमा प्रतिकैदी वार्षिक लागत ७९ हजार १ सय ९८ रुपैयाँ भनेर लेख्नुभएको छ। यो जुन तथ्याङक छ, त्यसमा अहिले कति कैदीबन्दी छन् भनेर हिसाब गर्दाखेरी वार्षिक रुपमा हाम्रो खर्च यो तथ्याङ्कको आधारमा २ अर्ब २७ करोड ४४ लाख ८ हजार १ सय ६४ रुपैयाँ हुँदो रहेछ । यो कैदीबन्दीलाई हामीले गर्ने खर्च, वार्षिक। यो ठूलो खर्च हो,' उनले भनिन्,'दुई अर्ब भनेको त हामीले के के धेरै कुराहरु गर्न सकिन्थ्यो होला। दुई अर्ब रुपैयाँ हामीले कैदीबन्दीलाई उनीहरुको व्यक्तिगत खाना, स्वास्थ्य, न्याय लगायतका कुराहरुमा खर्च गर्नु। राज्यले यसरी थुनेर राख्दाखेरी गर्ने यो खर्च ठूलो हो।'
सरकारले गतवर्ष प्रतिकैदी ७९ हजार १ सय ९८ रुपैयाँ खर्च गरेको थियो। देशभर हाल २७ हजार कैदीबन्दी रहेका छन्। मान्छे थुनेर राखेर दुई अर्व वार्षिक खर्च गर्नु भनेको ठूलो खर्च भएको सांसद गौतमको भनाइ छ।
'भवनको खर्च, प्रसासनिक खर्च झन कति आउँदो हो। बजेट छैन हामी भनिराख्छौँ, एकातिर यो ठूलो खर्च छ, यो खर्चको व्यवस्थापन चाहीँ वैज्ञानिक हिसाबले गरिएन भने हामीले सधैभरी विलौना गरेर समस्याको समाधान हुन्छ त?' उनले सोधिन्।
Shares

प्रतिक्रिया