राजनीति


रवि लामिछानेको धरौटीविरुद्धको निवेदनमा सकिएन बहस, अर्को बिहीबार पेसी

रवि लामिछानेको धरौटीविरुद्धको निवेदनमा सकिएन बहस, अर्को बिहीबार पेसी

नेपालखबर
साउन २९, २०८२ बिहिबार १८:३६, काठमाडौँ

उच्च अदालत पोखराले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेसँग कास्की जिल्ला अदालतले लिएको धरौटीविरुद्धको निवेदनमा उच्च अदालत, पोखरामा सुनुवाइ अघि बढेको छ।

सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्दामा ६५ लाख रूपैयाँ धरौटीमा छुटेका लामिछानेलाई थुनामै राख्नुपर्ने माग राखी सरकारी पक्षले जिल्लाको आदेशविरुद्ध उच्च अदालतमा निवेदन दिएको थियो। त्यस्तै आफूलाई तोकिएको धरौटी रकम चर्को परेको भन्दै रविले पनि निवेदन दर्ता गराएका थिए।

ती दुवै निवेदन एकसाथ राखी उच्च अदालतले सुनुवाइ अघि बढाएको हो। मुख्य न्यायाधीश डा रत्नबहादुर बागचन्द र न्यायाधीश दीपेन्द्र अधिकारीको इजलासमा बिहीबार बहस नसकिएपछि आउँदो बिहीबार सुनुवाइका लागि मिति तोकिएको छ।

समयाभावको कारण सुनुवाइ नसकिएको भन्दै अर्को पेसी बिहीबारका लागि तोकेको उच्च अदालतका उपरजिस्ट्रार तथा सूचना अधिकारी निलप्रसाद पनेरुले जानकारी दिए। 

‘समय नपुगेका कारण बहस सकिएन। नियमअनुसार त्यसको पेसी बिहीबारको लागि तोकिएको छ। उहाँहरूले (न्यायाधीशहरू) ७३ नम्बरको निवेदन हाल्नुभएको हो। त्यो मुद्दामा बिहीबारलाई नै पेसी तोकिन्छ' उनले भने। 
 
सूर्यदर्शन सहकारी प्रकरणमा मुछिएका पूर्वडीआइजी छविलाल जोशी, आरती गुरुङ, मीना गुरुङ, रामबहादुर खनाल, लीला पछाईँसहित ७ जना धरौटीमा रिहा भएका थिए।

सूर्यदर्शन सहकारीको रकम अपचलन मुद्दामा कास्की जिल्ला अदालतका न्यायाधीश नितिज राईको एकल इजलासले गएको पुस २५ गते लामिछानेलाई ६५ लाख धरौटी लिई तारेखमा छाड्न आदेश दिएको थियो।

जिल्ला सरकारी वकिलको कार्यालयले सो आदेश खारेज गरी पुर्पक्षको लागि कारागार पठाउनुपर्ने माग गर्दै उच्च अदालतको ढोका ढक्ढक्याएको थियो भने रवि पक्षले गएको माघ १४ गते धरौटी रकम खारेज गर्दै साधारण तारेख दिनुपर्ने माग गरेको थियो।

दुवै निवदेनमाथि गएको जेठ २ गते पहिलो सुनुवाइ भएको थियो। त्यसबेला रविका कानुन व्यवसायीले रविलाई पेसीको जानकारी नै नदिई सुनुवाइ अघि बढाएको भन्दै आपत्ति जनाएका थिए। 

जबकि, त्यसअघि नै रविपक्षबाट पेसी सारिएको उच्च अदालत पोखराले जानकारी दिएको थियो।

बिहीबार रविलाई पुर्पक्षको लागि थुनामै राख्नुपर्ने माग गर्दै उच्च सरकारी वकिल कार्यालयका सहन्यायाधिवक्ता रूद्रप्रसाद पन्थी, उपन्यायाधीवक्ताहरू बुद्धिलाल श्रेष्ठ, तुलबहादुर खड्का, एकनारायण ढकाल, सहकारी पीडितका तर्फबाट अधिवक्ता युवराज पराजुलीलगायतले अदालतमा बहस गरेका थिए।

रविका तर्फबाट नारायण कँडेल र मीना गुरूङको तर्फबाट सुरेन्द्र थापालगायत कानुन व्यवसायीले बहस गरेका थिए। 

अहिले लामिछाने बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणमा पुर्पक्षका लागि रुपन्देही कारागारमा छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad