नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले पुरानो संघर्ष र इतिहासले मात्र अबको नेतृत्व गर्न नसक्ने बताएका छन्।
नेपाली कांग्रेसका नेता एवं समाजवादी चिन्तक स्वर्गीय प्रदीप गिरीको तेश्रो स्मृति दिवसका अवसरमा बुधबार राजधानीमा आयोजित ‘निष्ठा, नैतिकता र राजनीति’ विषयक विमर्श कार्यक्रममा बोल्दै पुनले यस्तो बताएका हुन्।
उनले १९९८, २००७, ०३६, ०४६, ०५२ र ०६३/०६३ को संघर्षको इतिहाससँग जोडिएका दलहरूले विगतको ब्याजले मात्र अबको नेतृत्व गर्न नसक्ने दाबी गरे।
‘हिजो बलिदानको ब्याजले मात्र आजको राजनीति धान्न सकिँदैन। मान्छेले विश्वास गर्दैन’, पुनले भने, ‘पुराना पुस्ताका नेताहरुप्रति हाम्रो पुराका पुरा सम्मान छ। पुराना नेताले विचार, राजनीतिक निष्ठा र संस्कार देखाउन जरुरी छ। पार्टीहरु र नेताहरु लोकतान्त्रिक संस्कारमा छन् भन्ने विश्वास दिलाउन नसकेको अवस्था छ। त्यो कुरामा आत्मालोचना गर्नैपर्छ।’
लोकतन्त्रको विकल्प झन् राम्रो लोकतन्त्र र नेताहरूको विकल्प झन् राम्रो नेता भए पनि पपुलिज्मको जगबाट उदाउने अतिजातीवादी र अन्धराष्ट्रवादीहरू विकल्प हुन नसक्ने उनको भनाइ थियो।
‘हाम्रो पार्टीको कोणबाट हेर्दा लोकतन्त्रको विकल्प झन् राम्रो लोकतन्त्र हो, पार्टी सिस्टमको विकल्प झन् राम्रो पार्टी सिस्टम र नेताहरूको विकल्प झन राम्रो नेताहरु हो’, पुनले भने, ‘सस्तो लोकप्रियतावादले मुलुकका समस्या समाधान गर्दैन। तर, हाम्रा विचार राजनीतिक, कामकारबाही र कार्यशैलीमा धेरै नै शुद्धीकरण जरुरी छ।’
पुराना पार्टी र नेताहरूले आफूलाई परिस्कार गरेर विचार, जानीति, र निष्ठाका साथ अघि नबढे मुलुकमा अहिलेको भन्दा थप निराशा छाउने पुनले उल्लेख गरे।
Shares

प्रतिक्रिया