जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले उखु किसान सबैभन्दा बढी अपहेलित भएको बताएका छन्।
बिहीबार उखु किसानको आन्दोलनमा ऐक्यवद्धता जनाउन माइतीघर पुगेका अध्यक्ष यादवले यस्तो बताएका हुन्। उनले सरकारले उखु किसानलाई दिनुपर्ने अनुदान तत्काल दिनुपर्ने बताए। अन्नदाता किसानलाई नेपालमा राज्यले सबैभन्दा बढी उपेक्षा गरेको उनले आरोप लगाए।
किसानमा पनि उखु किसान अझ बढी पेलानमा परेका यादवको भनाई छ। उनले किसानले उत्पादन गरेको उखु किनेर मिल सञ्चालक धनी हुने तर किसानले समयमा मूल्य नपाउने अवस्था रहेको बताए।
उनले भने, ‘अहिले नेपालमा राज्यले सबैभन्दा बढी उपेक्षित गरेको क्षेत्र भनेको किसान हो। किसानमा पनि उखु किसान त झन् सबभन्दा बढी अपहेलित भएको छ। तपाईंहरूले उत्पादन गरेको उखु मिलमा जान्छ, त्यहाँबाट चिनी लगायतका उत्पादन हुन्छ। त्यो उत्पादन बेचेर व्यापारीहरूले प्रशस्त कमाईराखेको हुन्छ। त्यसैलाई उत्पादन गर्छ, त्यसैलाई बेच्छ, त्यसैबाट कमाईराखेको हुन्छ। यता किसानहरुलाई दिनुपर्नेमा समयमा न उचित मूल्य पाएको छ, न तोकेको रकम पाएको छ। वर्षौंसम्म किसानलाई पेलिराखेको हुन्छ।’
सरकारले उखु किसानलाई तत्काल रकम भुक्तानी गर्नुपर्नेमा उनले जोड दिए। उनले मिलमा पुर्याएको एक महिनाभित्र उखु किसानलाई मिलवालाले रकम भुक्तानी गर्ने व्यवस्था गर्न पनि सरकारसँग माग गरे।
उनले आवश्यक ऐन कानून बनाएर भएपनि किसानको माग पूरा गर्नुपर्नेमा जोड दिए। वर्तमान नीतिले किसान समस्यामा परेको, गरिबी, बेरोजगार बढेको उनको भनाई छ। उखु किसानले सरकारले तोकेको प्रतिक्वीन्टल ७० रुपैयाँका दरले अनुदान उपलब्ध नगराएको भन्दै माइतीघरमा आन्दोलन गरिरहेका छन्। सरकारले उखु किसानलाई दिने अनुदानमा आधा कटौती गरेको छ।
Shares

प्रतिक्रिया