काठमाडौंको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका डाक्टर शेरबहादुर पुनलाई ‘स्पष्टीकरण मागेर पत्र पठाइएको’ भन्ने समाचार सार्वजनिक भए पनि त्यस पत्रमा खास के लेखिएको छ भन्ने बारे स्पष्ट भइसकेको छैन।
तर यो विषय सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमा व्यापक बनेपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालय आफैंले आफ्नो आधिकारिक फेसबुक पेजमार्फत स्पष्टीकरण दिएको छ।
शनिबार राति मिनिस्ट्री अफ हेल्थ एन्ड पपुलेसन फेसबुक पेजमा ‘मिति २०७७ वैशाख ६ गते स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सूचना’ जारी गर्दै भनेको छः
कोभिड-१९ को सन्दर्भमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कार्यरत स्वास्थ्यकर्मीहरूलाई कामको सिलसिलामा मन्त्रालय वा अन्तर्गतका जुनसुकै निकायमा काम गर्न खटाई संक्रमितहरूको स्वास्थ्य उपचार गराइरहेको छ। यसै सिलसिलामा शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा कार्यरत डा. शेरबहादुर पुनलाई मन्त्रालयमा बोलाइएकामा केही पत्रपत्रिका तथा सामाजिक सञ्जालमा सत्य तथ्य बंग्याई माननीय स्वास्थ्य तथा जनसंख्या मन्त्रीज्यूको नाम समेत मुछि अनर्गल तथा दुष्प्रचार गर्ने कार्य भएकामा यस मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको छ।
कोभिड-१९ का सन्दर्भमा जोसुकै र जुनसुकै स्वास्थ्यकर्मीलाई आवश्यकतानुसार मन्त्रालयबाट खटाउने कार्य भैरहेको छ र यस्ता स्वास्थ्यकर्मीलाई सरकारले सतप्रतिशत भत्ता र २५ लाखको बिमासमेतको व्यवस्था गरेको छ। यस सन्दर्भमा सत्य तथ्य नबुझिकन अनर्गल प्रचार प्रसार वा लेख लेखाउने कार्य नगर्न नगराउनु हुन सचेत गराइन्छ।
याे पनि:
टेकु अस्पतालका डा.पुनलाई सरकारले माग्यो स्पष्टीकरण, उनी भन्छन्ः कोरोनाबारे बोल्नु कसरी गल्ती?
Shares

प्रतिक्रिया