नेकपा (एमाले) का उपाध्यक्ष विष्णुप्रसाद पौडेलले पार्टीको संगठनलाई गतिशील, प्रभावकारी र चलायमान बनाउन भूगोलभन्दा बाहिर इलाका र सम्पर्क कमिटी आवश्यक रहेको बताएका छन्।
ललितपुरको गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा शुक्रबारदेखि जारी पार्टीको दोस्रो विधान महाधिवेशनको अन्तिम दिन आज विधान संशोधन प्रतिवेदनमाथिको समूहगत छलफलबाट आएको प्रश्नको जवाफ दिँदै उपाध्यक्ष उनले केन्द्रीय कमिटीको अनुमतिमा राजधानी बाहिरका सहरी क्षेत्रमा पनि सम्पर्क समिति बनाउनुपर्नेमा जोड दिए।
उपाध्यक्ष पौडेलले महाधिवेशनको बन्दसत्रमा केन्द्रीय कमिटी १५ जना पदाधिकारीसहित २५१ हुने र सबै तहको कमिटीमा निर्वाचित हुन ७० वर्षको उमेर हदलाई हटाइएको उपाध्यक्ष पौडेलले जानकारी दिए।
त्यस्तै, पार्टी सदस्यतामा पनि पार्टी सदस्य र संगठित सदस्य गरी २ खालको हुनुपर्ने उनको भनाइ थियो। प्रदेश अधिवेशन चार-चार वर्षमा, केन्द्रीय महाधिवेशन पाँच वर्ष हुने उपाध्यक्ष पौडेलले जवाफका क्रममा बताए।
उपाध्यक्ष पौडेलले हरेक प्रदेशबाट एक जना केन्द्रीय प्रतिनिधि राख्ने कुरा राम्रो भए पनि विधानमा नै उल्लेख गर्न आवश्यक नरहेको बताए। समूहगत छलफलबाट प्रदेश र स्थानीय तहमासमेत नीति अनुन्धान प्रतिष्ठान बनाउन गरिएको प्रस्तावमाथि जवाफ दिनुहुँदै उपाध्यक्ष पौडेलले पार्टीको नीति तय गर्ने एउटामात्रै नीति अनुन्धान प्रतिष्ठान केन्द्रीय तहमा हुने र स्थानीय कमिटीले सुझाव दिन सक्ने बताए।
उनले सहकारीलाई पार्टीको संरचनामा समेट्नु उपयुक्त नहुने धारणा राखे। प्रदेश र स्थानीय कमिटीमा १५ प्रतिशत र आयोगका कमिटीमा १० प्रतिशत मनोनयनको व्यवस्था उचित समेत उल्लेख गरे। स्थानीय, प्रदेश र केन्द्रीय तहबाट हुने मूल्यांकनलाई व्यवस्थित र वैज्ञानिक बनाउन जरुरी रहेको चर्चा गर्दै पौडेलले नेता तथा कार्यकर्तालाई उत्पादनसंग जोड्नुपर्नेमा जोड दिए।
‘पार्टी अभ्यासमा भएको कमजोरीले कारबाहीमा समस्या भएको छ, अन्तरघातका सम्बन्धमा थाहा पाउनेबित्तिकै विधानको व्यवस्थाको कार्यान्वयन गरेर कारबाही गर्नुपर्छ,’ उनले भने, ‘उत्पादन, विकास निर्माण, समृद्धि र जनताका सरोकारसँग जोडिएका कार्यकर्ता निर्माणका लागि ध्यान दिऔँ।’ उनले प्रदेश र स्थानीय कमिटीमा पूर्वअध्यक्ष वा निवर्तमान अध्यक्षलाई दोस्रो वरियता दिनु घातक हुन्छ र यसले समस्या सृजना गर्ने बताए।
उपाध्यक्ष पौडेलले पार्टी अध्यक्ष केपी शर्मा ओलीको नामबाट सृजना भएको पूँजीलाई जोगाएर मिसन-८४ मा निर्णायक शक्तिका रुपमा बदल्न आवश्यक रहेको पनि उल्लेख गरे। रासस

प्रतिक्रिया