कृषिमन्त्री रामनाथ अधिकारीले पदबाट राजीनामा दिएका छन्।
केही बेरअघि मन्त्री अधिकारीले पदबाट राजीनामा दिएको उनका सहयोगी विजय अधिकारीले पुष्टि गरे।
‘कर्फ्यु छ, बाहिर निसक्न सकेको छैन’, उनले नेपालखबरसँग भने, ‘प्रम (केपी शर्मा ओली) र पार्टी सभापति (शेरबहादुर देउवा) लाई उहाँले जानकारी दिइसक्नुभयो।’
नेता शेखर कोइरालाले चीनबाटै राजीनामा दिन निर्देशन दिएपछि उनीनिकट मन्त्री अधिकारीले राजीनामा दिएका हुन्।
सोमबार जेन-जी आन्दोलनमा सरकार दमन गर्दा १९ युवा मारिएपछि चीनमा रहेका कांग्रेस नेता कोइरालाले आफ्नो समूहका तर्फबाट मन्त्री रहेकाहरूलाई राजीनमाा दिन निर्देशन दिएका हुन्।
शेखर समूहबाट सरकारमा रहेका अन्य मन्त्रीमा बद्री पाण्डे संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री र तेजुलाल चौधरी युवा तथा खेलकुद मन्त्री छन्।
कांग्रेसबाटै गृहमन्त्री बनेका रमेश लेखकले त घटनाकै दिन सोमबार साँझ पदबाट राजीनामा दिइसकेका छन्।
त्यसो त सत्तारुढ दलकै नेताहरूले प्रधानमन्त्री केपी शर्मा ओलीकै राजीनामा मागिरहेका छन्। तर यसप्रति अहिलेसम्म ओलीले कुनै चासो देखाएका छैनन्।
यसैबीच जेनजीले आफ्नो आन्दोलन जारी राखेको छ। आज पनि युवाले बानेश्वरमा बिहानैदेखि विरोध प्रदर्शन सुरु गरिसकेका छन्। जहाँ सोमबार प्रहरीको गोलीबाट विद्यार्थीसहित १७ युवा मारिएका थिए।
उपत्यकाबाहिर पनि सोही आन्दोलनमा २ जना मारिएको प्रहरीले नै पुष्टि गरिसकेको छ।
Shares

प्रतिक्रिया