राजनीति


राष्ट्रपतिलाई बालेनले भने : अविलम्ब अन्तरिम सरकार गठन र संसद् विघटन गर्नुस्

राष्ट्रपतिलाई बालेनले भने : अविलम्ब अन्तरिम सरकार गठन र संसद् विघटन गर्नुस्

नेपालखबर
भदौ २५, २०८२ बुधबार २२:३३, काठमाडौँ

काठमाडौँका मेयर बालेन शाहले राष्ट्रपति रामचन्द्र पौडेलसँग अविलम्ब अन्तरिम सरकार गठन र संसद् विघटन गर्न माग गरेका छन्। बुधबार साँझ उनले फेसबुकमा लेख्दै यस्तो आग्रह गरेका हुन्।

उनले जेन जीहरुलाई पनि नआत्तिन, धैर्य राख्न आग्रह गरेका छन्।

अन्तरिम सरकारको प्रधानमन्त्रीमा सुशीला कार्कीलाई आफ्नो समर्थन रहेको उनको भनाइ छ। 

‘प्रिय जेन–जी तथा सम्पूर्ण नेपालीहरूमा मेरो आग्रह। अहिले देश एउटा इतिहासमै नभएको फरक परिस्थितिमा छ। तपाईँहरूले अहिले सुनौलो भविष्यतर्फ कदम चाल्दै हुनुहुन्छ,’ उनले भनेका छन्, ‘यो बेला कृपया नआत्तिनु होला, धैर्य राख्नु होला। अब देश अन्तरिम सरकारमा जाँदैछ, जसले देशमा नयाँ चुनाव गराउनेछ। यो अन्तरिम सरकारको काम भनेको चुनाव गराउने,देशलाई नयाँ जनादेश दिने हो। यो अन्तरिम र चुनावी सरकारको नेतृत्व गर्नका लागि तपाईँहरूबाट आएको प्रस्ताव पूर्व प्रधानन्यायाधीश श्रीमान् सुशीला कार्कीप्रति पूर्ण समर्थन छ। तपाईँहरूको सुझबुझ, विवेक र एकतालाई हृदयदेखि सम्मान गर्न चाहन्छु।’ 

उनले हर्क साम्पाङलाई लक्षित गर्दै नेतृत्वमा आउन चाहेकाहरुलाई चुनावसम्म कुर्न भनेका छन्।  

‘तपाईँहरू कति परिपक्व हुनुहुँदो रहेछ भन्ने कुरा यसैले जनाउँछ। अहिले नै हतारमा नेतृत्वमा आउन चाहनुभएका साथीहरूलाई के भन्न चाहन्छु भने—तपाईँहरूको जोश, तपाईँहरूको सोच, तपाईँहरूको इमानदारीता  देशलाई स्थायी रूपमा चाहिएको हो, अस्थायी रूपमा होइन। त्यसका लागि चुनाव त हुन्छ नै। कृपया हतार नगर्नु होला’ उनले भनेका छन्। 

त्यस्तै राष्ट्रपतिलाई उनले जेनजीले ल्याएको ऐतिहासिक क्रान्तिलाई संरक्षण गर्न अन्तरिम सरकार र संसद् विघटन गर्न पनि आग्रह गरेका छन्। उनले भनेका छन्, ‘सम्माननीय राष्ट्रपतिज्यू, जेनजीहरुले ल्याएको ऐतिहासिक क्रान्तिलाई संरक्षण गर्न अन्तरिम सरकारको गठन र  संसदको विघटन अविलम्ब गर्नु होला।’
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad