राजनीति


मुलुकले पहिलोपटक महिला प्रधानमन्त्री पाउँदै

मुलुकले पहिलोपटक महिला प्रधानमन्त्री पाउँदै

फाइल तस्बिर : पूर्वप्रधानन्यायाधीश सुशीला कार्की


नेपालखबर
भदौ २७, २०८२ शुक्रबार ७:४०, काठमाडौँ

नेपालमा पहिलोपटक महिला प्रधानमन्त्री बन्ने भएकी छन्। 

अन्तरिम सरकारको प्रमुख पूर्वप्रधानन्यायाधीश सुशीला कार्की बनाउने लगभग पक्का भएसँगै मुलुकले पहिलोपटक महिला प्रधानमन्त्री पाउने भएको हो। नेपालमा महिला राष्ट्रपतिको रेकर्ड भने विद्यादेवी भण्डारीले बनाइसकेकी छन्। 

राष्ट्रपतिको कार्यालय शीतल निवासमा बिहीबार रातभर भएको जेनजी प्रतिनिधिसहितको वार्तामा अन्तरिम प्रधानमन्त्री पूर्वप्रधानन्यायाधीश कार्कीलाई बनाउन सर्वपक्षीय समझदारी बनेको हो।

यद्यपि संसद् विघटनको विषयमा कुरा अड्किँदा निष्कर्षमा पुग्न भने बाँकी छ। यसका लागि राष्ट्रपति रामचन्द्र पौडेलले आज पुन: जेन-जीसहित सरोकारवाला पक्षसँग वार्ता गर्दै छन्। 

कार्कीलाई अन्तरिम सरकारको नेतृत्व प्रदान गर्न जेनजी प्रतिनिधि, जेनजीसँग निकट देखिएका काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन), नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देलबीच पनि समझदारी बनेको हो। 

तर संसद् विघटन गरिनुपर्ने जेनजीहरूको मागमा भने राष्ट्रपतिले निर्णय दिन नसकेकाले आज पुन: वार्ता गर्न लागिएको हो।

जारी छलफलमा संसद् रहेकै अवस्थामा गैरसांसद कार्कीलाई प्रधानमन्त्री बनाउने बाटो संविधानले नदिएको तर्क गरिएकाले निष्कर्षमा पुग्न कठिन भएको हो। 

तथापि राष्ट्रपति पौडेलले संविधानको धारा ६१ (४) अन्तर्गत ‘बाधा अड्काउ फुकाऊ’ प्रावधान प्रयोग गर्न सकिने विषयमा संविधानविद्‌हरूसँग परामर्श गरेका छन्।

संविधानको उक्त उपधारामा लेखिएको छ- संविधानको पालन र संरक्षण गर्नु राष्ट्रपतिको कर्तव्य हुनेछ। 

‘राष्ट्रको अभिभावक कहिल्यै पनि विकल्पविहीन हुँदैन’, संविधानविद्हरूले राष्ट्रपतिलाई सल्लाह दिएका छन्, ‘संविधानमा कमभन्दा कम क्षति हुने गरी निर्णय लिन सक्छ। संविधानमा नलेखिए पनि इमर्जेन्सी लाइट बाल्ने अधिकार राष्ट्रपतिको पदसँगै अन्तर्निहित भएर आउँछ।’

त्यही कर्तव्यभित्र रहेर राष्ट्रपतिले निर्णय गर्न सक्नेछन्। त्यसका लागि हालकै कामचलाउ सरकारको मन्त्रिपरिषद्‌बाट बाधा अड्काउ फुकाउको सिफारिस हुन सक्नेछ।

भ्रष्टाचार र बेथितिविरुद्ध जेन-जी अर्थात् नयाँ पुस्ताले भदौ २३ गते राजधानी काठमाडौँसहित देशका विभिन्न सहरमा गरेका प्रदर्शनमा सरकारले दमन गर्दा १९ जना युवा मारिएपछि दोस्रो दिन आन्दोलन उग्र बनेको थियो। 

प्रदर्शनकारी तोडफोड, आगजनी र नेता कुटिपटमा उत्रिएपछि भदौ २४ गते बाध्य भएर प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिएपछि मुलुक अन्तरिम सरकार गठन प्रक्रियामा अघि बढेको हो।

भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा मृत्यु भएकाको संख्या बिहीबार बेलुकासम्म ३६ पुगिसकेको छ। 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उपचारका क्रममा बिहीबार थप २ घाइतेको मृत्यु भएपछि मृतकको संख्या ३६ पुगेको हो।

आन्दोलनका क्रममा घाइते भएकामध्ये बिहीबारसम्म १ हजार ३३० जना डिस्चार्ज भइसकेका छन्। हाल ३२२ जना विभिन्न अस्पतालमा उपचाररत छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad