नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा गठन गरिने अन्तरिम सरकारलाई संविधानसँग जोड्नैपर्ने बताएका छन्।
शुक्रबार सामाजिक सञ्जालमार्फत भिडिओ अपिल जारी गर्दै उनले अब बन्ने अन्तरिम सरकारलाई २०७२ को संविधानअन्तर्गत नै राखिनुपर्ने अन्यथा देशले ठूलो मूल्य चुकाउनुपर्ने चेतावनी दिएका हुन्।
आन्दोलनकारी जेन-जीका प्रतिनिधिले नै छानेका व्यक्तिको नेतृत्वमा अन्तरिम सरकार गठन गर्ने तर त्यसलाई संविधानभित्र नै पारिनुपर्नेमा सांसद थापाले जोड दिएका छन्।
‘हामी प्रस्ट छौँ- यो बेलामा जेन-जी आन्दोलनकारी साथीहरूले जे माग राख्नुभएको छ, त्यो मागलाई सम्मान गरेर, सम्बोधन गरेर मात्रै देश अगाडि बढ्न सक्छ। अन्तरिम सरकार बनाउने कुरा छ, सम्भवतः आज साँझसम्म अन्तरिम सरकारको कुरा टुंगिएला’, कांग्रेस महामन्त्री थापाले भनेका छन्, ‘आन्दोलनकारी साथीहरूले माग गरेअनुरूप उहाँहरूले छानेको व्यक्तिको नेतृत्वमा सरकार बनाउने कुराका निम्ति नेपाली कांग्रेस पार्टी तयार मात्र होइन, यसका निम्ति आवश्यक वातावरण पनि बनाइरहेको छ। त्यो सरकारले अगाडिका कामहरू अगाडि बढाउँछ। निर्वाचन गराउँछ। अहिलेका छानबिन गर्ने काम, पुनर्निर्माणका कामहरूको नेतृत्व गर्छ।
तर एउटै कुरा छ कि हामी यो सरकारलाई संविधानसँग जोड्न चाहन्छौँ। किनकि २०७२ को संविधानसँग जोडिएन भने अहिले बनेको सरकारले दिने समाधान स्थायी समाधान हुन सक्दैन। अगाडिका कामहरू गर्न सजिलो छैन। किनकि बाटै सजिलो छैन। यति धेरै भत्किएको छ कि कसैले कल्पना पनि गरेको छैन। सबलाई जोड्नुपर्छ। अनि मात्र अहिलेको अवस्थाबाट अगाडि बढ्न सकिन्छ। त्यसैले संविधानसँग जोड्न आवश्यक छ। संविधानसम्मत बनाउन आवश्यक छ।’
सँगसँगै संविधान जोगाउने पनि हाम्रो जिम्मेवारी रहेको थापाले बताएका छन्।
‘किनकि संविधान एकपटक ट्र्याकबाट चिप्लिसकेपछाडि त्यसपछि फर्काउन सकिँदैन। त्यसको मूल्य देशले दशकौँसम्म चुकाउनुपर्छ भन्ने अनुभव हामीले गरेर आएका छौँ’, उनले भनेका छन्, ‘त्यसकारणले गर्दा पनि हामी संविधानलाई पनि जोगाएर, संविधानले बाँधेर जेन-जी साथीहरूले राख्नुभएको अहिलेको माग जस्तैः नागरिक सरकार बनाउने, २०४६ साल पछाडिका सबैको सम्पत्ति छानबिन गर्ने, अख्तियारलगायत सबै निकायहरूलाई त्यहाँभित्र रहेका अहिलेका नियुक्तिहरूका ठाउँमा सही नियुक्ति गर्ने, यी कुराहरूलाई सम्बोधन गर्ने गरी अगाडि बढाउनका निम्ति यसका लागि पहलकदमी गरिरहेका छौँ, वातावरण बनाइरहेका छौँ, हाम्रो जिम्मेवारी छ। त्यो जिम्मेवारी हामी पूरा गर्छाैँ र त्योभन्दा बाहेक संविधानभित्र रहेर संविधानमा सुधार गर्ने कुराहरूको सन्दर्भमा पनि नेपाली कांग्रेस पार्टी सबै पक्षसँग संवाद गर्दै अगाडि बढ्ने कुराका निम्ति हामी लागिरहेका छौँ।’
शीतल निवासमा जारी वार्तामा संसद् विघटन गरेर अन्तरिम सरकार गठन गर्ने कि यथावत् राखेरै पूर्वप्रधानन्यायाधीश कार्कीलाई प्रधानमन्त्रीमा नियुक्ति गर्ने भन्ने विषयमा बहस भइरहेका बेला कांग्रेस महामन्त्रीबाट उक्त अभिव्यक्ति आएको हो।
Shares

प्रतिक्रिया