पूर्वमन्त्री तथा राष्ट्रियत स्वतन्त्र पार्टी (रास्वपा) का नेता सुमना श्रेष्ठले आफू नवगठित अन्तरिम मन्त्रिपरिषद्मा मन्त्री बन्न नजाने स्पष्टीकरण दिएकी छन्।
धेरै साथीहरूले मन्त्री बन्न लागेको हो भनी म्यासेज/फोन गरेर सोधेको भन्दै उनले आफू सरकारमा सामेल नहुने बताएकी हुन्।
‘म अन्तरिम मन्त्रिमण्डलमा जान लागेको हैन, मेरो यस सरकारप्रति पूर्ण समर्थन छ। यो सरकारलाई असफल हुने सहुलित छैन पृष्ठभूमिमा बसेर यो सरकारलाई सफल गराउन मेरो अनुभव, सञ्जाल र समय दिनेछु, तर कुनै मन्त्रीको पद भने लिने छैन’, शनिबार सामाजिक सञ्जालमार्फत उनले भनेकी छन्।
‘हरेक आन्दोलनपछि जसको विरुद्ध आन्दोलन भएको हो, त्यही पुरानो शक्तिसँग लसपस हुँदा आन्दोलनको मर्म प्रदूषित भएको छ। यसपालिको आन्दोलनमा म त्यस्तो प्रदूषणको कारक बन्दिनँ, यसको उपलब्धि संस्थागत गर्न दिलोज्यान दिएर काम गर्छु। सत्ता होइन, सेवा गर्ने! कुर्सी होइन, कर्म गर्ने! नाम होइन, काम गर्ने’, उनले थपेकी छन्।
जेनजी आन्दोलनका कारण केपी शर्मा ओली नेतृत्वको सरकार विस्थापन भएपछि राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार राति मात्र पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा नयाँ अन्तरिम सरकार गठन गरेका छन्।
मन्त्रिपरिषद् विस्तार गर्न बाँकी छ।
शुक्रबारै बसेको मन्त्रिपरिषद्को पहिलो बैठकको सिफारिसमा राष्ट्रपति पौडेलले प्रतिनिधि सभा विघटन गरी फागुन २१ गतेका लागि चुनाव घोषणा पनि गरिसकेका छन्।
सुन्नुहोस्, सुमनाको भिडिओ सन्देश पनि:
म अन्तरिम मन्त्रीमण्डलमा जान लागेको हैन
— Sumana (@SumanaShrestha) September 13, 2025
मेरो यस सरकारप्रति पूर्ण समर्थन छ। यो सरकारलाई असफल हुने सहुलित छैन, पृष्ठभूमिमा बसेर यो सरकारलाई सफल गराउन मेरो अनुभव, सञ्जाल र समय दिनेछु, तर कुनै मन्त्रीको पद भने लिने छैन । हरेक आन्दोलन पछि जसको विरुद्ध आन्दोलन भएको हो त्यही पुरानो… pic.twitter.com/wgbIWGYvjY
Shares

प्रतिक्रिया